चितवन, असार ९-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा अधिकांश पुरुष नेताहरूका भाषणले सञ्चार माध्यममा व्यापक स्थान पाए। तर, उद्घाटन मञ्चमा रास्वपाको उदयदेखि चितवनको भूमिकासम्म दमदार प्रस्तुति दिएकी एक महिला नेताको भाषण भने चर्चाको केन्द्रमा पर्न सकेन।
ती महिला नेतृ हुन्– रास्वपा चितवनकी सदस्य नम्बर १ तथा भरतपुर महानगर समितिकी निर्वाचित सभापति सीता ज्ञवाली। स्वागत मन्तव्यको जिम्मेवारी पाएकी उनले अतिथिहरूलाई स्वागत गर्दै चितवनलाई रास्वपाको ‘हेडक्वार्टर’ का रूपमा व्याख्या गर्दै पार्टीको सुरुआती यात्राबारे भावपूर्ण सम्बोधन गरेकी थिइन्।
राजनीतिमा आउनुअघि ज्ञवाली चितवनको पुरानो मेडिकल कलेजमा २० वर्षसम्म नर्सका रूपमा कार्यरत थिइन्। उनी कुनै राजनीतिक दलमा आबद्ध नभए पनि रवि लामिछानेको टेलिभिजन कार्यक्रमकी नियमित दर्शक थिइन्। रवि लामिछानेमाथि आत्महत्याको दुरुत्साहन मुद्दा दर्ता भएपछि चितवनमा भएको आन्दोलनमा उनी ११ दिनसम्म सक्रिय रूपमा सहभागी भइन्। आन्दोलनका क्रममा प्रहरीको लाठीचार्जबाट घाइते समेत भएकी थिइन्।
चितवन–२ बाट रवि लामिछानेले लडेका तीनवटै निर्वाचनमा प्रस्तावक बनेकी ज्ञवाली अहिले पनि ठूलो पदभन्दा संगठन बलियो बनाउने अभियानमा केन्द्रित छिन्। सांसद वा केन्द्रीय जिम्मेवारीभन्दा स्थानीय तहलाई सुदृढ बनाउने लक्ष्यसहित भरतपुर महानगर समितिको नेतृत्व गरिरहेकी उनले भनिन्, “२० वर्ष नर्स बनेर सेवा गरेँ, अब राजनीतिमार्फत जनताको सेवा गर्न चाहन्छु।”