माडी सडक निर्माणको बाटो खुल्दै, तीन मन्त्रीको संयुक्त निरीक्षणपछि निकुञ्जका काम एक महिनाभित्र अघि बढाउने निर्देशन

sobita gautam

चितवन, असार ८-

चितवनको जगतपुर–माडी सडकखण्डको स्तरोन्नति तथा कालोपत्रे निर्माणलाई गति दिन संघीय सरकारका तीन मन्त्री संयुक्त रूपमा स्थलगत निरीक्षणमा पुग्नु भएको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं चितवन–३ की प्रतिनिधिसभा सदस्य सोबिता गौतम, कृषि तथा वन तथा वातावरणमन्त्री गीता चौधरी र भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले आइतबार सडकखण्डको अवलोकन गर्दै निर्माण प्रक्रियालाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो ।

निरीक्षणका क्रममा मन्त्री गौतमले चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने सडक निर्माणका लागि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रियालाई अब ढिलाइ गर्न नहुने बताउनुभयो । उहाले निकुञ्जसँग सम्बन्धित काम एक महिनाभित्र अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिँदै स्थानीयवासीको लामो समयदेखिको मागलाई यथाशीघ्र सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

मन्त्री गौतमले आगामी करिब छ महिनाभित्र निकुञ्जसँग सम्बन्धित कानुनी जटिलता समाधान गरी सडक निर्माणको काम सुरु गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो । उहाका अनुसार माडी जाने मुख्य सडकलाई कालोपत्रे गरी सहज र सुरक्षित यातायात सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले सडक निर्माणलाई प्राथमिकतामा राखेर आवश्यक तयारी अघि बढाइने बताउनुभयो भने कृषि तथा वन तथा वातावरणमन्त्री गीता चौधरीले निकुञ्ज र वातावरणीय पक्षलाई ध्यानमा राख्दै आवश्यक समन्वयमार्फत निर्माण प्रक्रिया अगाडि बढाइने स्पष्ट पार्नुभयो ।

वर्षौंदेखि स्तरोन्नतिको प्रतीक्षामा रहेको जगतपुर–माडी सडक निर्माणको विषयमा तीन मन्त्रीको संयुक्त निरीक्षण र स्पष्ट प्रतिबद्धतापछि स्थानीयवासीमा सडक निर्माणले अब गति लिने अपेक्षा बढेको छ।