रास्वपा महाधिवेशनः अन्य पार्टीका ‘शीर्ष नेता’ लाई मात्रै शुभकामना मन्तव्य राख्न दिने नीति

mahadibesan

चितवन , असार ७ –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो केन्द्रीय महाधिवेशन आज चितवनको भरतपुरमा सुरु हुँदैछ । भरतपुर–१० स्थित गेस्ट हाउस चौरमा आयोजना हुने उद्घाटन समारोहमा पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) ले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

रास्वपाका अनुसार उद्घाटन समारोहलाई संक्षिप्त र व्यवस्थित बनाउने तयारी गरिएको छ । प्रधानमन्त्री शाहको सम्बोधन छोटो रहने बताइएको छ भने अन्य वक्ताहरूको संख्या पनि सीमित राखिएको छ । उद्घाटन कार्यक्रमको सञ्चालन महामन्त्रीद्वय कवीन्द्र बुर्लाकोटी र भूपदेव शाहले संयुक्त रूपमा गर्नेछन् । स्वागत मन्तव्य रास्वपा चितवनका जिल्ला अध्यक्ष मिनी माधव खनाल तथा भरतपुर महानगर अध्यक्ष सीता ज्ञवालीले दिने कार्यक्रम छ ।

महाधिवेशनमा शुभकामना आदानप्रदानका लागि राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई निमन्त्रणा गरिएको छ । नेपाली कांग्रेसका सभापति गगन थापा र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उद्घाटन समारोहमा सहभागी हुने निश्चित भएको रास्वपाले जनाएको छ ।

यस्तै, नेकपा (एमाले) ले प्रदीप ज्ञवाली र नेकपाले वर्षमान पुनलाई प्रतिनिधिका रूपमा पठाउने भएको छ । श्रम संस्कृति पार्टीले भने प्रतिनिधि पठाउने विषयमा औपचारिक जानकारी गराएको छैन । उक्त पार्टीका अध्यक्ष हर्क साम्पाङले यसअघि नै महाधिवेशनमा सहभागी नहुने घोषणा गरेका थिए । रास्वपाका एक पदाधिकारीका अनुसार अन्य दलबाट अध्यक्ष, उपाध्यक्ष वा महामन्त्री तहका नेता उपस्थित भए उनीहरूलाई मञ्चबाट शुभकामना मन्तव्य राख्ने अवसर दिइनेछ । सोही आधारमा कांग्रेस सभापति थापा र राप्रपा अध्यक्ष लिङ्देनले सम्बोधन गर्ने सम्भावना रहेको छ । एमालेका ज्ञवाली र नेकपाका पुनलाई भने विशेष सम्मानसहित मञ्चमा स्थान दिइने जनाइएको छ ।

पार्टी नेतृत्वका अनुसार सभापति लामिछाने र वरिष्ठ नेता शाहबाहेक रास्वपाका अन्य शीर्ष नेताको सम्बोधन कार्यक्रम राखिएको छैन । साथै, उद्घाटन समारोहमा विदेशी प्रतिनिधिहरूलाई समेत निमन्त्रणा नगरिएको बताइएको छ । रास्वपाले उद्घाटन कार्यक्रमलाई अनावश्यक रूपमा लामो नबनाई महाधिवेशनका औपचारिक कार्यक्रमहरूलाई प्राथमिकता दिने जनाएको छ ।