चितवन, असार १ –
युनाइटेड टेक्निकल कलेज (यू–टेक) मा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । इन्जिनियरिङ, डिजिटल प्रविधि तथा दिगो पूर्वाधार विकासका क्षेत्रमा अनुसन्धान, नवप्रवर्तन र ज्ञान प्रवर्द्धन गर्ने उद्देश्यले कलेजले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलन हिजो (आइतबार) भएको हो।
सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, अनुसन्धानकर्ता, प्राध्यापक, इन्जिनियर तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको उद्घाटन पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा.विष्णुराज तिवारीले गर्नुभएको थियो। उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले डिजिटल प्रविधि, अनुसन्धान तथा नवप्रवर्तनलाई राष्ट्रको समग्र विकाससँग जोड्न आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष प्रा.डा. पदमबहादुर शाही, त्रिभुवन विश्वविद्यालय अन्तर्गत आईटी इनोभेसन सेन्टरका निर्देशक तथा आईओई पुल्चोक क्याम्पसका प्राध्यापक प्रा. डा. सुबर्ण शाक्य, सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालका अध्यक्ष डा. हरिराम श्रेष्ठ, वरिष्ठ इन्जिनियर तथा पूर्वाधार विज्ञ इन्जिनियर बाबुराम उपाध्याय तथा सम्मेलन संयोजक डा. सुरज लामिछाने लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो।
सम्मेलनमा कृत्रिम बुद्धिमत्ता डिजिटल सुशासन, यातायात पूर्वाधार, भवन निर्माण, जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण तथा दिगो विकाससँग सम्बन्धित विभिन्न अनुसन्धानमूलक कार्यपत्रहरू प्रस्तुत गरिएका थिए। विशेष सत्रमा अन्तर्राष्ट्रिय विज्ञ ग्यारी डे पोमेराईले “भूकम्पसम्बन्धी पूर्वसूचना प्रणालीमा कृत्रिम बुद्धिमत्ताको भूमिका” विषयमा प्रस्तुति दिनुभएको थियो । यस्तै सम्मेलनमा प्रा. डा. सुबर्ण शाक्यले दिगो पूर्वाधार विकासको लागि एआई(संचालित डिजिटल शासन फ्रेमवर्क विषयमा मुख्य वक्तव्य प्रस्तुत गर्नुभएको थियो।
उक्त अवसरमा इन्जिनियर बाबुराम उपाध्यायले गुणस्तरीय प्राविधिक शिक्षा, अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिँदै शैक्षिक संस्था, उद्योग तथा सरकारी निकायबीचको सहकार्यलाई सुदृढ बनाउन आवश्यक रहेको बताउनुभयो। उहाँले दिगो पूर्वाधार विकास, प्रविधिमैत्री नीति तथा दक्ष जनशक्ति उत्पादनमा यस्ता अन्तर्राष्ट्रिय सम्मेलनहरूले महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्नुभयो।
देशभरका विभिन्न शैक्षिक संस्था तथा अनुसन्धान केन्द्रबाट प्राप्त अनुसन्धानपत्रमाथि प्रस्तुति, छलफल तथा अन्तरक्रिया गरिएको सम्मेलनमा सहभागीहरूले यस्ता कार्यक्रमले अनुसन्धान संस्कृति, प्राविधिक नवप्रवर्तन तथा ज्ञान आदानप्रदानलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेका थिए।
युनाइटेड टेक्निकल कलेजका प्राचार्य तथा सम्मेलन अध्यक्ष प्रा.डा. माधव प्रसाद कोइरालाले सम्मेलनले अनुसन्धान, नवप्रवर्तन तथा दिगो विकाससम्बन्धी बहसलाई थप प्रभावकारी बनाएको बताउनुभयो। समापन सत्रमा आयोजकले सहभागी, वक्ता, अनुसन्धानकर्ता तथा सहयोगी संस्थाहरूप्रति आभार व्यक्त गर्दै सम्मेलनले डिजिटल प्रविधि, इन्जिनियरिङ तथा दिगो पूर्वाधार विकासका क्षेत्रमा अनुसन्धान र सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा व्यक्त गरेको थियो।