भरतपुर, जेठ २९-
चितवनमा हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी तिव्र पारिएको छ । आगामी असार ७, ८ र ९ गतेका लागि महाधिवेशनको मिति तय गरिएपछि अहिले जिल्लामा महाधिवेशन व्यवस्थापनको काम अघि बढेको छ ।
रास्वपाले १८ वटा उपसमिति बनाएर अधिवेशनको कामलाई बाँडफाँट गरेको छ । अहिले महाधिवेशनको बन्दसत्र र उद्घाटनस्थल छनोट गर्ने काम भइरहेको रास्वपाका केन्द्रीय सदस्य एवम् आवास तथा भोजन व्यवस्थापन उपसमिति संयोजक राजन गौतमले जानकारी दिनुभयो । ‘संसद्को ठूलो दल भएकाले देशका विभिन्न ठाउँबाट नेता तथा कार्यकर्ता आउनुहुन्छ । मौसमको प्रतिकुलता हेरेर नारायणी नदी किनार, भरतपुरस्थित चितवन औद्योगिक प्रदर्शनी केन्द्र र रत्ननगरस्थित पूर्वपश्चिम राजमार्गको आडैमा रहेको होटल स्टार बैंक्वेटका महाधिवेशन गर्ने बारेमा छलफल भइरहेको छ,’ उहाँले भन्नुभयो ‘सायद होटेल स्टार बैंक्वेटमा हुन सक्छ ।’
महाधिवेशनस्थल छनोटका लागि दुई साता अगाडि पहिले रास्वपाका महामन्त्री भूपदेव शाह समेत चितवन आउनुभएको थियो । अहिले सहजताका लागि विभिन्न कोणबाट स्थल छनोटको काम भइरहेको गौतमले बताउनुभयो । अहिले महाधिवेशनमा सहभागिताका लागि प्रतिनिधि छनोटको प्रक्रिया पनि सँगै अघि बढाएको छ ।
रास्वपाले वडा र नगरको अधिवेशन सकाउँदै प्रतिनिधि छनोट गरिसकेको छ भने हालसम्म ६४ जिल्लामा अधिवेशन सम्पन्न गरेर प्रतिनिधि छनोट भएको छन् । अझै १३ जिल्लामा विभिन्न कारण अधिवेशन हुन नसकेको केन्द्रीय संगठन विभाग सचिव तथा महाधिवेशन व्यवस्थापन समितिका सदस्य शंकर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला र प्रदेशको प्रतिनिधि टुंगो लागेपछि तीन हजार ५०० को संख्यामा प्रतिनिधिहरु महाधिवेशनमा सहभागी हुनेछन् ।
यद्यपि मधेस प्रदेशका धनुषा, बारा, रौतहट, महोत्तरी, सर्लाही र सिराहा त्यस्तै बागमतीको सिन्धुपाल्चोक, गण्डकीको मनाङ र मुस्ताङ, लुम्बिनीको रुकुमपूर्व, कर्णालीको हुम्ला र जुम्लामा जिल्ला अधिवेशन समेत हुन सकेको छैन । कोशी र सुदूरपश्चिमका सबै जिल्लामा अधिवेशन भइसकेको छ । महाधिवेशनको मिति नजिकिए पनि अझै ६ वटा प्रदेशको महाधिवेशन हुन सकेको छैन ।
केन्द्रीय संगठन विभाग सचिव श्रेष्ठले कोशी प्रदेशमा बिहीबार अधिवेशन सम्पन्न भएको बताउनुभयो । बागमती प्रदेशमा स्थगित छ भने मधेस प्रदेशको निश्चित छैन । जेठ २९ गते गण्डकी, जेठ ३० गते लुम्बिनी, जेठ ३१ गते कर्णाली र असार १ गते सुदूरपश्चिम प्रदेशको अधिवेशन हुने उहाँले जानकारी दिनुभयो । बाँकी प्रदेशमा सहमति जुटाउने प्रयास भएको उहाँले बताउनुभयो।
‘बागमतीमा तोकिएको मितिमा हुन सकेन । शनिबार हुन सक्छ । मधेसमा प्रयास जारी छ,’ उहाँले भन्नुभयो, ‘छुटेका प्रदेशमा महाधिवेशन पछि अधिवेशन हुनपनि सक्ने सम्भावना हुन्छ ।’ प्रवासबाट पनि प्रतिनिधि आउने छन् । उहाँका अनुसार एउटा देशबाट दुईदेखि ११ जनासम्म प्रतिनिधि हुनेछन् ।
यद्यपि विदेशबाट कति जना प्रतिनिधि हुन्छन् भन्ने विषयमा अझै अन्योल रहेको उहाँले बताउनुभयो । ‘३२ वटा जति देशमा हाम्रो संगठन विस्तार भएको छ । अब कति आउनुहुन्छ अझै एकिन भएको छैन’ उहाँले भन्नुभयो । देश तथा विदेशबाट आउने प्रतिनिधिहरुको नाम सिस्टममा दर्ता गर्ने काम भइरहेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार पार्टीको निर्वाचन आयोगले निर्वाचनको तयारी थालिसकेको छ भने व्यवस्थापन समितिले आर्थिक स्रोतको समेत व्यवस्थापन गरेको उहाँले बताउनुभयो । यद्यपि महाधिवेशनमा कति खर्च लाग्छ भन्ने विषयमा भने उहाँ खुल्न चाहनुभएन । ‘महाधिवेशनमा कम भन्दा कम खर्च गर्ने योजनामा हामी छौँ । एक जना प्रतिनिधिबाट तीन हजार रुपैयाँ व्यवस्थापन खर्च शुल्क लिन्छौँ,’ उहाँले भन्नुभये, ‘कति खर्च हुन्छ भन्ने अनुमान मसँग छैन । स्रोत जुटाउने साथीहरुलाई थाहा होला ।’
पालिका, जिल्ला र प्रदेशस्तरबाट महाधिवेशन प्रतिनिधि आउने अनुमान सहित चितवनमा बसोबासका लागि आवास व्यवस्थापन अघि बढाएको आवास तथा भोजन व्यवस्थापन उपसमिति संयोजक गौतमले जानकारी दिनुभयो । ‘अहिले सौराहा र भरतपुर क्षेत्रका होटल व्यवसायीसँग समन्वय गरेर छलछल चलिरहेको छ’, उहाँले भन्नुभयो, ‘हाललाई हामीले पाँच हजार जनाको स्टिमेट गरेर कुरा गरेका छौँ ।’ चितवनका होटेलमा दश हजारभन्दा बढी क्षमता रहेको छ । केही दिनभित्रमा आवासको टुंगो लाग्ने उहाँले बताउनुभयो ।
महाधिवेशनबाट रास्वपाको नयाँ नेतृत्व आउनेछ । अहिले सभापति पदमा निर्वाचन नभएपनि अन्य पदका लागि भने निर्वाचन हुने अनुमान गरिएको केन्द्रीय सदस्यहरु बताउँछन् । ‘देशैभरको माहोल हेर्दा चुनाव नहोला भन्न सकिँदैन । पार्टीमा नयाँ साथीहरुलाई समेट्नका लागि पार्टी नेतृत्वले मध्यमार्गी उपाय पनि अपनाउन सक्छ,’ ती केन्द्रीय सदस्यले भन्नुभयो, ‘जिल्ला जिल्लाको निर्वाचन हेर्दा पक्कै चुनाव हुने देखिन्छ ।’ रास्वपाको विधान अनुसार पहिला केन्द्रीय समिति चयन हुन्छ । केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने व्यवस्था भएको गौतमले बताउनुभयो । रास्वपामा अहिलेको केन्द्रीय सदस्य १६५ रहेको छ ।