मुग्लिन–मलेखु सडकका चार पुल सञ्चालनमा आउँदै

muglin-malekhu

चितवन,जेठ २८ –

पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिङ–मलेखु सडकखण्डका चार पुल अगामी असारमा सञ्चालनमा ल्याउने गरि काम गरिएको छ । ती पुलको सामान्य बाहेकका काम सम्पन्न भएका छन् ।

नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार खहरे खोला, चिरौँदी खोला, गोमती खोला र हुग्दी खोलाको पुल असारभित्र सञ्चालनमा ल्याउन लागिएको हो । उनका अनुसार ती पुलमध्ये कतिपयको सडकसँग जोड्ने बाटो बनाउन बाँकी छ । पुलको प्लाष्टर, रङरोगन, ट्राफिक सुरक्षालगायत सामान्य कामहरू बाँकी छन् ।

उनले भने “समग्रमा ९० प्रतिशतभन्दा बढी काम भएका छन् । हामी असारभित्र पुल सञ्चालनको तयारीमा छौँ ।” सोही खण्डको हुग्दी र चरौँदी खोलाको पुल निर्माणाधीन छ । हुग्दीको ३० प्रतिशत र चरौँदीको ५० प्रतिशत काम भएको उहाँले बताउनुभयो । ती पुलको भुइँ र पिल्लरको काम भइरहेको छ । सो सडक खण्डमा अलकत्राको अभावमा रोकिएको कालोपत्रको काम गर्ने तयारी गरिएको छ ।मिश्रका अनुसार निर्माण कम्पनीले एक दुई दिनमा अलकत्रा आउने र कालोपत्र गर्न सक्ने बताएको छ । उनका अनुसार सबबेस राखिसकेको करिब दुई किलोमिटर सडकमा बेस राखेर कालोपत्र गर्ने तयारी गरिएको छ । यो बन्दै गर्दा थप ठाउँ कालोपत्रको तयारी गर्न सकिने उनले जानकारी दिए ।

अलकत्राको मूल्य बढेर आउन छोडेपछि यहाँ कालोपत्र काम रोकिएको थियो । ढल निर्माण, रेलिङलगायतका काम भने भइरहेको उनले जानकारी दिए। सडक निर्माणको काम ४३ प्रतिशत सम्पन्न भएको छ । सो खण्डमा ३८ दशमलव ८६ किलोमिटर सडक पर्दछ । यस खण्डमा दुई दशमलव दुई किमी छ लेनको बन्नेछ । जुन मलेखु, बेनीघाट र मुग्लिन खण्डमा पर्दछ । सात दशमलव दुई किमी सडक चार लेन हुनेछ । चार लेन रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझीमटार, चरौँदी र विशालटार क्षेत्रमा पर्ने छ । उकालो–ओरालो खण्डमा तीन लेनको ‘क्लाइम्बिङ’ मार्ग बनाइने छ । ‘क्लाइम्बिङ’ मार्ग दुई दशमलव तीन किमीको हुनेछ भने बाँकी सडक दुई लेनको हुनेछ ।

निर्माण कम्पनीले रु चार अर्ब ८० करोड ५९ लाखमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएको हो । सडकका विभिन्न क्षेत्रमा कालोपत्रसँगै नाला बनाउने, पहिरो रोकथामका लागि संरचना निर्माण, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षा, पुल निर्माणलगायत काम बाँकी छ । यो सडक विश्व बैङ्कको सहयोगमा बनाउन लागिएको हो । काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य नाकाका रूपमा यो खण्ड रहेको छ ।

गएको डिसेम्बर २८ मा निर्माणको म्याद सकिएपछि १८३ दिन थप गरिएको छ । अरू म्याद थपका लागि प्रक्रियामा रहेको छ ।