रगतको अभाव हुन नदिन चितवनमा रक्तदान महोत्सव जेठ ३० मा आयोजना हुने

blood-donation

नारायणगढ (चितवन), जेठ २८-

विश्व रक्तदाता दिवसका अवसरमा यही जेठ ३० गते चितवनमा ‘दोस्रो ऐतिहासिक रक्तदान महोत्सव–२०८३’ आयोजना हुने भएको छ । भरतपुरस्थित चितवन उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा महोत्सव आयोजना गर्न लागिएको हो । भरतपुरलाई अस्पतालहरूको सहरका रूपमा चिनिने भएकाले यहाँ रगतको माग उच्च रहने गर्दछ । विशेषगरी गर्मीयाममा रगतको अभाव बढ्ने भएकाले रक्तदाताहरूलाई महोत्सवमा सहभागी भई रक्तदान गर्न आयोजकले आग्रह गरेका छन् ।

हरेक वर्ष जुन १४ मा विश्वभर विश्व रक्तदाता दिवस मनाइन्छ । सुरक्षित रगत तथा रगतजन्य पदार्थको आवश्यकताबारे सचेतना फैलाउने, रक्तदानका लागि प्रेरित गर्ने र रक्तदाताप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले यो दिवस मनाइने गरिएको छ ।

ब्लड डोनर्स सोसाइटी नेपालको आयोजनामा हुन लागेको महोत्सवबारे जानकारी दिँदै सोसाइटीका अध्यक्ष अञ्जन दवाडीले संस्थाले विगत पाँच वर्षदेखि रक्तदान तथा रक्तदान प्रवद्र्धनका क्षेत्रमा निरन्तर काम गर्दै आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सोसाइटीले विशेषगरी रक्त व्यवस्थापनको क्षेत्रमा विगत पाँच वर्षदेखि उल्लेखनीय काम गर्दै आएको छ । अघिल्लो वर्ष विश्व रक्तदाता दिवसका अवसरमा विभिन्न क्षेत्रका अभियन्ता र रक्तदातालाई सङ्गठित गरी पहिलो रक्तदान महोत्सव आयोजना गरेका थियौँ ।”

उहाँका अनुसार गत वर्ष आयोजित पहिलो रक्तदान महोत्सव नेपालमै एकै दिनमा सबैभन्दा बढी रगत सङ्कलन भएको कार्यक्रममध्ये एक थियो । उक्त महोत्सवमा एक हजार ७१७ पिन्ट रगत सङ्कलन भएको थियो ।

दवाडीले रगतको अभाव न्यूनीकरण गर्नाका साथै रक्तदानप्रति जनचेतना र उत्प्रेरणा जगाउने उद्देश्यले गत वर्षको सफलतापछि यस वर्ष दोस्रो ऐतिहासिक रक्तदान महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो । उहाँले मानवताको महान् अभियानमा सहभागी भई रक्तदान गर्न तथा कार्यक्रम सफल बनाउन सबैलाई अनुरोध गर्नुभयो ।

महोत्सव सफल बनाउन प्रशासन, सुरक्षा निकाय तथा विभिन्न सङ्घसंस्थाले सहयोगको प्रतिबद्धता जनाएका छन् । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अभियान अत्यन्त सकारात्मक र मानवीय कार्य भएको उल्लेख गर्दै यसको सफलताका लागि आवश्यक सहयोग रहने बताउनुभयो ।

उहाँले लक्ष्यभन्दा पनि कार्यक्रमको प्रभावकारी व्यवस्थापन र व्यापक प्रचारप्रसारमा ध्यान दिनुपर्ने बताउनुभयो । स्वास्थ्य अवस्थाका कारण आफू रक्तदान गर्न नसक्ने भए पनि आधा महिनाको तलब सहयोगस्वरूप प्रदान गर्ने घोषणा गर्नुभयो ।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले आफ्ना मातहतका सुरक्षाकर्मीलाई रक्तदानका लागि प्रेरित गर्ने बताउनुभयो । उहाँले “आफ्नो शरीरमा बगेको रगतले कसैको जीवन बचाउन सक्छ भने रक्तदान किन नगर्ने ?” भन्दै अभियानमा सहभागी हुन आग्रह गर्नुभयो । महोत्सवका लागि विभिन्न अभियन्ता, स्थानीय तहका प्रमुख, सङ्घसंस्थाका प्रतिनिधि तथा सामाजिक अगुवाले पनि रक्तदान गर्न आह्वान गर्दै आएका छन् ।रासस