चितवन,जेठ २७ –
बकुलहर रत्ननगर अस्पतालमा मंगलबार बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। सामाजिक उत्तरदायित्व तथा मानव सेवाको भावनालाई आत्मसात गर्दै आयोजित कार्यक्रममा रक्तदाताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
अस्पतालका कार्यालय प्रमुखद्वारा उद्घाटन गरिएको कार्यक्रम बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन गरिएको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका नागरिक, युवा तथा सामाजिक अभियन्ताहरूले उत्साहपूर्वक रक्तदान गरेका थिए।
नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुर–चितवन, ब्लड डोनर्स सोसाइटी रत्ननगर तथा अफिसियल फोटोग्राफी पार्टनर मनकामना फोटोग्राफी, टाँडी–चितवनको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो। ‘रक्तदान जीवनदान’ भन्ने सन्देशका साथ सम्पन्न कार्यक्रमले रगतको अभाव न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास लिइएको आयोजकले जनाएको छ। कार्यक्रम सफल बनाउन योगदान पुर्याउने सम्पूर्ण रक्तदाता, सहयोगी संस्था, स्वयंसेवक तथा सरोकारवालाप्रति आयोजकले हार्दिक आभार व्यक्त गरेको छ।