बासी तथा सडेगलेको खाना खाजा खुवाउने भरतपुरको शिव शम्भु मिष्ठान्न भण्डार चितवन प्रशासनले बन्द गर्‍यो

siva sambu misthana bhandar

चितवन, जेठ २६ –

चितवनको भरतपुर महानगरपालिका–१० स्थित शिव शम्भु मिष्ठान्न भण्डारलाई बासी तथा सडेगलेका खाद्य पदार्थ उपभोक्तालाई खुवाएको भन्दै बन्द गराइएको छ।

भरतपुर महानगरपालिकाको बजार अनुगमन टोलीले यसअघि उक्त मिष्ठान्न भण्डारलाई जरिवाना गर्दै सुधारका लागि निर्देशन दिएको थियो। साथै, पटक–पटक मौखिक रूपमा सावधानी अपनाउन र खाद्य स्वच्छताका मापदण्ड पालना गर्न सचेत गराइएको भए पनि व्यवसायीले निर्देशनको पालना नगरेको अनुगमन टोलीले जनाएको छ।

उपभोक्तालाई बासी तथा सडेगलेका खाजा तथा खाना खुवाइरहेको गुनासो आएपछि आज प्रमुख जिल्ला अधिकारीसहितको संयुक्त अनुगमन टोलीले आकस्मिक अनुगमन गरेको थियो। अनुगमनका क्रममा पहिले देखिएका कमजोरीहरू पुनः दोहोरिएको र खाद्य सामग्रीको गुणस्तर तथा सरसफाइमा गम्भीर लापरबाही भेटिएको जनाइएको छ।

अुनगमनका क्रममा स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने गतिविधि निरन्तर जारी रहेको निष्कर्ष निकाल्दै शिव शम्भु मिष्ठान्न भण्डार तत्कालका लागि बन्द गराएको जनाएको छ। सम्बन्धित निकायले खाद्य व्यवसायीहरूलाई खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गर्दै प्रशासनले उपभोक्ताको स्वास्थ्यसँग खेलबाड गर्ने जो–कोहीमाथि कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ।