हुवावेले चितवनमा इन्टरप्राइज आईसीटी समाधान सार्वजनिक गर्‍यो

Enterprise-Digital-Transformation

चितवन, जेठ २५-

हुवावे नेपाल र एस्ट्रल कम्प्युटर्स नेपाल प्रा.लि.को संयुक्त आयोजनामा चितवनको भरतपुरमा “डिजिटल रूपान्तरणमार्फत उद्यम सशक्तिकरण” विषयक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा हुवावेले आफ्नो नवीनतम इन्टरप्राइज आईसीटी समाधानहरू प्रस्तुत गर्दै विभिन्न उद्योग तथा संस्थाहरूलाई डिजिटल प्रविधिमार्फत अझ सुरक्षित, प्रभावकारी र स्मार्ट बनाउने उपायहरूबारे जानकारी दिएको हो।

सत्रहरूमा आधुनिक क्याम्पस नेटवर्किङ, साइबर सुरक्षा, साना तथा मझौला व्यवसायका लागि Huawei eKit समाधान, उन्नत आईटी पूर्वाधार तथा डिजिटल रूपान्तरणका व्यावहारिक पक्षहरूमा प्रस्तुति तथा छलफल गरिएको थियो। हुवावे नेपालका प्रतिनिधिहरूले डिजिटल रूपान्तरणले उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्दै दिगो विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताएका थिए। उनीहरूले भरपर्दो आईसीटी पूर्वाधारले सेवा प्रवाह, सुरक्षा र व्यवसायिक दक्षता बढाउने उल्लेख गरे।

कार्यक्रममा सहभागीहरूले प्रविधि विज्ञहरूसँग अन्तरक्रिया गर्दै नेपालका विभिन्न क्षेत्रका लागि उपयुक्त डिजिटल समाधानबारे जानकारी लिने अवसर पाएका थिए। एस्ट्रल कम्प्युटर्स नेपाल प्रा.लि.का प्रतिनिधिहरूले बैंकिङ, सरकारी निकाय, स्वास्थ्य, होटल तथा शिक्षा क्षेत्रमा आईटी समाधान विस्तार गर्दै डिजिटल रूपान्तरणलाई सहजीकरण गरिरहेको जानकारी दिए। हुवावे नेपालले “Seeds for the Future” जस्ता कार्यक्रममार्फत डिजिटल प्रतिभा विकास र नवप्रवर्तनलाई समेत निरन्तर प्रोत्साहन गर्दै आएको जनाएको छ। कार्यक्रमले नेपालमा डिजिटल पूर्वाधार विस्तार र उद्यमहरूको आधुनिकीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।