काठमाडौं, जेठ २० –
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न तयार रहेको बताएका छन् ।
भारत भ्रमणमा रहेका सत्तारूढ रास्वपा सभापति रवि लामिछानेसँगको भेटमा उनले यस्तो धारणा राखेका हुन् ।
उनले लामिछानेसँगको भेटले आफूलाई खुसी तुल्याएको उल्लेख गरेका छन् । ‘साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्ने उहाँको इच्छालाई म हार्दिक स्वागत गर्दछु र पूर्णरूपमा समर्थन गर्दछु’ मोदीले भनेका छन् ।
मोदीले ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल एक प्राथमिक साझेदार राष्ट्र भएको उल्लेख गरेका छन् ।
‘दुवै देशबीच रहेको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न हामी उत्सुक छौं,’ रविसँगको भेटपछि मोदीले फेसबुकमा लेखेका छन् ।
सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल भाजपाको निमन्त्रणामा पाँच दिने भारत भ्रमणका लागि जेठ १८ गते प्रस्थान गरेको थियो ।
सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपीनकुमार आचार्य, रास्वपाका सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य छन् ।