भरतपुर–१० मा निरोगी टोल अभियान सुरु

nirogi-tol-abhiyan

चितवन, जेठ १३-

‘म स्वस्थ, मेरो समुदाय स्वस्थ’ भन्ने मूल नाराका साथ चितवनको भरतपुरमा ‘निरोगी टोल अभियान–२०८३’ प्रारम्भ गरिएको छ । अन्तर टोल फिजियोथेरापी प्रशिक्षण एवं उपचार शिविर सञ्चालन गर्ने गरी यो अभियान बुधबारबाट सुरु गरिएको हो ।
भरतपु्र–१० का दुईवटा टोलले यो अभियान अघि बढाएका हुन् । शान्ति इन्द्रेणी टोल विकास संस्था र ऊँ शान्ति टोल विकास संस्थाको संयुक्त आयोजनामा भरतपुर–१० स्थित दोभान पुस्तकालयको सभाहलमा बुधबार उपस्थित टोलवासीलाई उक्त अभियानमा सहभागी गराइएको छ । श्री पुष्पाञ्जी अस्पताल भरतपुरले प्राविधिक सहयोग गरेको यो अभियानको संयोजन भरतपुर–१० का वडासदस्य रेशमराज थापा ऋषिले गरिरहेका छन् ।

प्रमुख अतिथि बागमती प्रदेशका पूर्व स्वास्थ्यमन्त्री उत्तम जोशीले अभियानको समुद्घाटन गरे । सो अवसरमा बोल्दै उहाँले स्वस्थ समुदाय निर्माणका लागि यस्ता स्थानीयस्तरका अभियानहरू प्रभावकारी हुने बताए ।
त्यसैगरी विशिष्ट अतिथिका रूपमा उपस्थित पुष्पाञ्जली अस्पतालका वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले बदलिँदो जीवनशैलीका कारण निम्तने शारीरिक समस्याहरूलाई समयमै फिजियोथेरापी र उचित व्यायामबाट समाधान गर्न सकिनेमा जोड दिए । कुनै निश्चित टोल मात्रै नभई सिङ्गो भरतपुरले नै यस्तो अभियान गरे पनि आफ्नो अस्पताल प्राविधिक सहयोग गर्न तयार रहेको उनले प्रतिबद्धता जनाए ।

शिविरमा फिजियोथेरापिस्ट मदन घिमिरेले मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । उनले टोलबासीहरूलाई दैनिक जीवनमा आइपर्ने विभिन्न शारीरिक समस्याहरू ढाड तथा कम्मर दुखाइ, गर्धन दुखाइ, हात तथा पाखुराको दुखाइ, नशा सड्किएको वा च्यापिएको अवस्थामा घरमै गर्न सकिने सरल फिजियोथेरापी विधिहरूको प्रयोगात्मक प्रशिक्षण दिएका थिए । साथै, गलत आसनका कारण हुने दुखाइबाट बच्न अपनाउनुपर्ने सामान्य सावधानीहरूबारे पनि जानकारी गराइएको थियो।

कार्यक्रम संयोजक थापाले स्थानीयस्तरमा सामान्य स्वास्थ्य समस्याले गर्दा पनि दैनिकी कष्टकर बनाएर बसेका धेरै व्यक्तिहरू देखेको भन्दै त्यस्ता समस्या समाधानका लागि अभियान थालिएको बताए । यो अभियानलाई अरू टोलमा पनि विस्तार गर्दै लैजाने उनले बताए ।
शान्ति इन्द्रेणी टोलका अध्यक्ष विनोदकान्त ढकाल र ऊँ शान्ति टोलका अध्यक्ष किसान पराजुलीको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रममा दुवै टोलका स्थानीय बासिन्दाहरूको बाक्लो उपस्थिति रहेको थियो। सहभागीहरूले विशेषज्ञबाट घरदैलोमै स्वास्थ्य परामर्श र फिजियोथेरापी सम्बन्धी सीप सिक्न पाएकोमा खुसी व्यक्त गरेका छन्।