Latest News

चितवन जिल्ला लिग : हर्दीको पहिलो जित, बिएफसी र सौराहाको बराबरी

449839960_872892171535658_406736641333079471_n

चितवन । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा आज (शुक्रबार) दुई खेल सम्पन्न भएका छन् ।

लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा हर्दी युवा समाजले जित हात पारेको छ । लिगमा पहिलो जित निकालेको हर्दीले एभरेष्ट क्लबलाई ३-० ले पाखा लगाएको हो । हर्दीको जितमा सन्तोष थिङले ह्याट्रिक गरे ।

उनले खेलको ७ औं, ४५ औं र ४७ औं मिनेटमा गोल गरे । जारी लिगमा ह्याट्रिक गर्ने उनी पहिलो खेलाडी हुन् । ह्याट्रिक गरेका सन्तोष म्यान अफ दि म्याच चुनिए । यो जित सँगै हर्दीको दुई खेलबाट ३ अंक भएको छ । एभरेष्टको समान खेलबाट एक अंक छ ।

आजै भएको दोस्रो खेलमा हानामी भरतपुर फुटबल क्लब (बिएफसी) र सौराहा युवा समाजले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । खेलमा बिएफसीका लागि सन्देश श्रेष्ठ तथा सौराहाका लागि सञ्जय चौधरीले गोल गरे ।

खेलमा बिएफसीले सुरुवाती गोल गर्दै अग्रता लिएको थियो । उसका लागि सन्देश श्रेष्ठले २३ औं मिनेटमा गोल गरेका थिए । तर बिएफसीको अग्रता धेरै समय टिकेन । २९ औं मिनेटमा सौराहाका सञ्जयले गोल गर्दै बिएफसीसँग अंक खोसे । सौराहाका तेजेन्द्र चौधरी म्यान अफ दि म्याच भए ।

यो बराबरीपछि बिएफसी दुई खेलबाट ४ अंकका साथ समूह ए को शिर्ष स्थानमा उक्लिएको छ । लिगमा समान दुई खेल खेलेको सौराहाले दुबै खेल बराबरी गरेको छ । उसको दुई खेलमा दुई अंक भएको छ ।

लिगमा शनिबार पनि दुई खेल हुनेछ । शनिबार पहिलो खेलमा माडी ११ र यात्रा ग्रुप भिड्नेछन् । खेल दिउँसो ३ बजे हुनेछ । दुबै टोली पहिलो जितको खोजिमा हुनेछन् । दुबै टिमले यस अघि पहिलो खेलमा बराबरी गरेका थिए ।

उता शनिबार नै दोस्रो खेलमा एष्ट्रल युथ सोसाइटी र नारायणी मोटर्स युनिक एफसी भिड्नेछन् । यो खेल साँझ ५ बजे हुनेछ । पहिलो खेलमा अंक बाँडेका दुबै टोली शनिबार स्पष्ट ३ अंकको खोजिमा हुनेछन् । चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि रहेको छ ।