Latest News

नेपालकै ठूलो मल्टिस्पेशलिष्ट ‘सिएमसी काठमाण्डौं अस्पताल’ सञ्चालनको तयारीमा

Kathmandu-International-Hospital-1

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको नेतृत्वमा काठमाण्डौंको तीनकुनेमा मल्टिस्पेशलिष्ट ‘सिएमसी काठमाण्डौं अस्पताल’ सञ्चालनको तयारीमा रहेको छ । १२ अर्ब रुपैयाँभन्दा बढी लगानीमा नेपालकै निजी क्षेत्रको ठूलो अस्पताल सञ्चालनको तयारी गरिएको हो ।

चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा. हरिश्चन्द्र न्यौपानेले सिएमसी काठमाण्डौंको नामबाट आगामी दसैंको घटस्थापनादेखि अस्पताल सञ्चालन गर्ने गरी तयारी गरिएको बताउनुभयो । उहाँले कान्तिपुर हेल्थलाई भन्नुभयो “१७ रोपनी जमिनमा १२ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेर अस्पताल सञ्चालन गर्न लागेका हौं ।” अस्पतालको सञ्चालनको शुरुमा नै भारतको मेदान्त अस्पतालले यसको व्यवस्थापन गर्ने प्रा.डा. न्यौपानेले बताउनुभयो ।

क्यान्सर सहित मल्टिस्पेशलिष्ट सेवा अस्पतालले दिने छ । उहाँले भन्नुभयो “विश्वका सुविधासम्पन्न अस्पतालले दिन सक्ने सेवा यही दिने गरी ठूलो लगानीमा अत्याधुनिक उपकरण सहितको अस्पताल सञ्चालन गर्दैछौं ।” तीन सय शैयाको यस अस्पतालले प्रमुख रुपमा क्यान्सरको उपचार गर्ने छ भने यससँगै सबै खालका अतिविशिष्टिकृत सेवा अस्पतालले दिने छ ।

नेपालीको लगानीमा निजी क्षेत्रको सबैभन्दा ठूलो अस्पताल यो हुने उहाँले बताउनुभयो । यस अस्पताल सञ्चालनमा आएसँगै भारत लगायत विदेशी अस्पताल जाने बिरामीले अन्तर्राष्ट्रिय स्तरको सेवा नेपालमा पाउने प्रा.डा. न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो “यो अस्पताल सञ्चालनमा आएसँगै नेपाली बिरामी उपचारका लागि विदेश जानु पर्दैन ।”

यसैबीच चितवन मेडिकल कलेजको नेतृत्वमा हेटौंडामा सिएमसी हेटौंडा अस्पतालको निर्माण थालिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नं. ४ मा अवस्थित, राजमार्गसँगै १९ कठ्ठा जमिनमा अस्पताल निर्माण थालिएको हो ।

अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रताप देवकोटाले बि.सं. २०८४ को दसैंबाट सेवा शुरु गर्ने गरी एक सय शैयाको अतिविशिष्टिकृत अस्पताल सञ्चालन गर्न लागिएको बताउनुभयो । रु. दुई अर्ब ५० करोड हाराहारी लगानी हुने अनुमान गरिएको छ ।

सिएमसीको नेतृत्वमा स्थानीय समेत साझेदार रहेको यस अस्पताल शुरु भएसँगै मकवानपुर, बारा, पर्सा, रौतहट लगायत तराई र छिमेकी पहाडी जिल्लाका वासिन्दा लाभान्वित हुने उहाँले बताउनुभयो । सँगै स्थानीयले रोजगारीको अवसर पाउने भएका छन् । हाल ती क्षेत्रका बिरामी विशिष्टिकृत सेवाका लागि भरतपुर, काठमाण्डौं र भारत समेत जानु पर्ने बाध्यता रहेको भन्दै उहाँले हेटौंडामै सेवा पाउने भएपछि बिरामी अन्यत्र जान नपर्ने बताउनुभयो ।