Latest News

सुकुमवासी बस्तीमा डोजर चलेपछिका शेष प्रश्नहरू

sukumbasi ghar

फिल्डमा पुगेका सहकर्मीहरूले सुकुमवासी बस्ती विस्थापनका हृदयविदारक रिपोर्टिङ पठाइरहेका थिए । ती रिपोर्टिङमा तथ्य र तथ्यांक मात्रै थिएनन्, घरबार गुमाएका पात्रहरुका करुणा, भावना र संवेदना पनि मिसिएका थिए ।

त्यही बेला मेरो ह्वाट्सएपमा अडियो म्यासेज आइपुग्यो । त्यो अरु कसैको थिएन, चार वर्षमा हिँडिरहेको छोराले आमाको मोबाइलबाट पठाएको थियो । उक्त अडियोमा प्रहरीले सिट्टी फुकेको, भागदौड चलेजस्तो अवाज सुनिन्थ्यो । त्यसपछि छोरोको आवाज थियो, ‘बाबा छिटो घर आऊ, पुलिस अन्टी आउनुभाको छ ।’

त्यो आवाजबाटै मैले थाह पाएँ, म बसिरहेको घर सामुन्नेमा रहेको सुकुमवासी बस्तीमा पनि डोजर चल्न सुरु गरेछ । हतारहतार सामान निकालिरहेका मानिस, भयभीत मुद्रामा यताउती गरिरहेका बस्तीका बाबुनानी, डोजरको आवाज, प्रहरीका गाडीका साइरन अनि डाङडाङ र डुङडुङ । यो सबै दृश्यबाट छोरो तर्सियो कि ? मैले लख काटेँ । दिमागमा पनि अनेक सोचाइका भागदौड चलिरह्यो ।

सुकुमवासी बस्ती सामुन्नेको घरमा म बस्न थालेको चार वर्ष नाघिसक्यो । बस्ती र मेरो बसाइबीच केही मिटरको मात्रै दुरी छ । मेरो कोठाको झ्यालबाट बस्तीको चहलपहल मात्रै देखिँदैन, झैझगडा, प्रेम र नोकझोक पनि सुनिन्छ । हिँडदावर्दा मैले यो बस्तीका धेरैसँग आँखा जुधाएको छु । उनीहरुसँग कुनै काम लिएको/दिएको छैन तर समुदायको एउटा सदस्यका रुपमा मैले उनीहरुको केही कुरा, सरोकार र चासो सुनेको छु । सन्चो-बिसन्चोको खैखबर बुझेको छु । चाडपर्वको शुभकामना दिएको छु ।
तर बस्ती सामुन्ने यतिका वर्ष गुजारे पनि मलाई उनीहरुमध्ये एकैजनाको पनि नाम थाहा छैन । थर थाहा छैन । तर उनीहरुको जीवनको सानातिना सुखदु:ख र त्यसको गुणस्तरबारे भने धेरथोर जानकार छु ।

बस्तीका स-साना बाबुनानी घरअघिको चौरमा खेलिरहेका हुन्थे । कहिले झैझगडा गर्थे । कहिले तिनका मुखबाट अज्ञानतवाश अश्लील शब्द पनि फुत्किन्थे । तिनीहरु अक्सर मैलाधैला देखिन्थे र खेलका नाममा झुत्ती मात्रै खेलिरहेका हुन्थे । रोकिराखेका गाडीमा झुण्डीराखेका हुन्थे । चंगा उडाइरहेका हुन्थे । खेल्दा खेल्दै छेउछाउका घरको पर्खालभीत्र छिरेका बल कसरी निकाल्ने भनेर जुक्ति लगाईरहेका हुन्थे ।

गरिबको घरमा जन्मिनु नै उनीहरुको दोष थियो कि वा मदिराले मातेका कतिपय बाबुआमाको झगडा वा छरछिमेकमा हुने यस्तै लफडा देखेर हुर्किनु नियति ! यस्तो किन भइरहेको थियो वा यसमा परिवारको मात्रै जिम्मेवारी हुन्छ कि त्यसभन्दा माथि पनि अरु कसैको जिम्मेवारी हुन्छ ? म आफैलाई सोध्ने गर्थें ।

एकजना दाजु थिए । क्याटरिङमा काम गर्छु भन्थे । तिनका बाबु केही समयअघि प्यारालाइसिस भएका थिए । वृद्ध बाबुलाई थेरापी गराउन उनी रोज कतै लगिरहेका हुन्थे । बाबुलाई हिँडनेसम्म बनाउन पाए हुन्थ्यो भन्ने तिनको कामना थियो । तिनका एक छोरा र सानी पुतलीजस्ती छोरी थिइन् । श्रीमती अरुका घरमा पाएको काम गर्थिन् । निहुरी परेर पनि मुस्किलले छिर्न सकिने घर थियो । घरभित्र म कहिल्यै छिरेको थिइनँ । किनकि त्यो तहको चिनजान थिएन । तर घरभित्र के थियो मलाई सब थाहा थियो । अघिल्लो वर्ष बागमतीको बाढी बस्तीमा छिरेपछि तिनीहरुले घरको पूरै सामान निकालेर घर नजिकैको मन्दिर छेउ राखेका थिए । बाढी सकिएपछि दुईतीन दिनसम्म कपडा धोएर सडक छेउमा डोरी टाँगेर सुकाएका थिए । त्यही सडक, जहाँ हरदिन धुवाँ र धुलो उड्छ ।

नजिकै अर्का बुढा बा-आमा थिए । बुढा बा हरदम कालो चस्मा लगाइरहेका देखिन्थे । रतन्धोको उपचार गरेपछि धुलोबाट जोगिन उनले त्यसो गरेको कुरा मैले धेरै पछि थाहा पाएँ । कुखुराका स-साना चल्ला ल्याएर पाल्थे । उनकी बुढिया कुखुरलाई मकै वा चामल खुवाइरहेको देख्थेँ । कुप्री परेकी बुढीआमा बारम्बार ख्वाक-ख्वाक खोकिरहन्थिन् । कहिलेकाहीँ रगत मिसिकएको खकार पिच्च पार्थिन् । कफ/खकार भुइँमा झर्न नपाउँदै कुखुराका चल्ला त्यसको भोजन गरिहाल्थे ।

अलिक पर एउटा कुप्री परेकी र लौरीको सहारामा सुस्तरी एकाध पाइला चाल्ने बुढीमाउ थिइन् । उनी झुपडीअघि परालबाट बनेको चक्लामा चुपचाप टुसुक्क बसिरहेकी हुन्थिन् । हरबिहान त्यो बाटो हिँड्दा उनी उस्तै चुपचाप देखिन्थिन् । म छोरोलाई लिएर हिँडेका बेला भने उनी बच्चालाई हेर्दै बालसुलभ शैलीमा मुसुक्क मुस्काउँथिन् । उनी परपरसम्म हेरिरहेको देख्दा केही पर्खिरहेकी छिन् झैं लाग्थ्यो । उनी चुपचाप बसिरहेको देख्दा, सहरको हतारोमा उनले बोल्ने मान्छे कुरिरहेकी छिन् जस्तो लाग्थ्यो ।

छोराको भ्वाइस म्यासेज आएको दिन म राति मात्रै घर पुगेँ । सधैं बत्तीहरुले उज्यालो देखिने, मान्छेको चहलपहलले गतिशील बस्ती उजाड थियो । भत्केका घरबाट सामान निकाल्नेहरु हतप्रभ देखिन्थे । स-साना ट्रक र लोडर गाडी सडकभरि थिए । मोबाइलको बत्ती बालेर त कोही अरु प्रकाशको व्यवस्था गरेर खण्डहर घरबाट सामान निकालिरहेका थिए । एकाध भने मन्दिर छेउमा बसेर टोलाइरहेका देखिन्थे ।

घरभित्र पुगेपछि छोराले सोध्यो, ‘हामी बसेको घर पनि भत्काउँछन् बाबा ?’
मैलै ‘भत्काउँदैनन्’ भनेर उसलाई आश्वत पार्ने प्रयास गरेँ । उसको बालसुलभ जिज्ञासा यत्तिमै रोकिएन- अगाडिका घरहरु किन भत्काएको बाबा ? ती मान्छेहरु अब कहाँ बस्छन् ? ती कुखुराहरु कहाँ गए बाबा ?
उसका प्रश्न मेरा निम्ति अनुत्तरित थिए । तर अप्ठ्यारा प्रश्न, जसलाई अप्ठ्यारो लाग्नुपर्ने हो उसलाई पटक्कै केही लागिरहेको थिएन ।

लत्ताकपडा, भाँडाबर्तन, फर्निचर अनि यस्तैयस्तै सामान सडक छेउमा ससाना थुप्रामा राखिएका थिए । यही बस्तीका मान्छेलाई ग्राहक बनाएर दोकान चलाउँछु भनेर गत वर्ष मात्रै पसल थापेका दाइ गहिरो सुस्केरा हाल्दै भनिरहेका थिए, ‘उफ, केही बाँकी रहेन ।’
म घर छिरे पनि बस्तीबाट उस्तै कलङमलङ आइरहेको थियो । तर त्यो अरु दिनजस्तो थिएन । अत्यास र हतारोको थियो । छटपटी र सास्तीको थियो । अप्ठ्यारो र झन्झटको थियो । अनि के गर्ने र कसो गर्ने भन्ने चिन्ताको थियो । यो बस्ती कसले बसायो ? यहाँभित्र के राजनीति थियो । बस्तीभित्रै भाडा लगाउनेहरु पनि थिए । सस्तो भाडामा ओत लाग्ने ठाउँ पाइयो भनेर सुस्ताउने पनि थिए । यहाँ शोषक को थियो, शासित को थियो । साँच्चै दु:खमा को थियो, छिपछिपे दु:खमा को थियो ? सबैसबै प्रश्नका उत्तर बस्तीसँग भत्किए ।