Latest News

मध्यवर्ती क्षेत्रमा पशुचौपाया जोगाउनै मुस्किल

202601231622-240b35ed-9028-4063-a3fe-79d4ae3d95ac_medium

गत बुधबार खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रबाट आएको चितुवाले थलारा गाउँपालिका–८ स्थित कोइरालकोटमा खडकबहादुर सिंहसहित स्थानीयका १० वटा बाख्रा मा¥यो । डाँडाबाघ मध्यवर्ती सामुदायिक वनको ककनेडी घोडिबिन्ना हलाने वन क्षेत्रमा चर्दै गरेको सबै बाख्रा आधा घण्टामै चितुवाको सिकार बने ।

सोमबार पनि देवस्थली गाउँमा एकैठाउँमा चितुवाले तीन बाख्रा मारेको अवस्थामा फेला परे । घर नजिकै चरिरहेका बाख्रा छोडेको एक घण्टामै मारेको फेला परेका थिए । तीन सातामा अदुकाली, घोडादाउना, दुवाली, कोइरालकोट र देवस्थलीमा मात्रै चितुवाले दुई दर्जनभन्दा बढी पशुचौपाया नोक्सान गरेको थियो ।

राष्ट्रिय निकुञ्जबाट दशौँ किलोमिटर टाढाको कालापानी बिसौनामा गत वर्ष पनि ठूलो सङ्ख्यामा बाख्राको नोक्सान भएको थियो । थलारा गाउँपालिका–२ कफलकाँडा रवीन्द्र खातीका ११ वटा बाख्रा मध्यान्नतिर बाख्रा नोक्सान भएपछि रु दुई लाख घाटा बेहोर्नुपरेको थियो । सोही वर्ष थलारा गाउँपालिका–९ का जगत विष्टका १० बाख्रा मारेर गोठ रित्तो भएको थियो । १२ वर्ष भारतमा रोजगारी गरेर फर्केका विष्टले गाउँमै आत्मनिर्भर हुन बाख्रापालन गर्दा ठूलो क्षति व्यहोर्नुपरेपछि फेरि भारतकै यात्रा तय गर्न बाध्य हुनुप¥यो ।

खप्तड छान्ना गाउँपालिका–१ का रामप्रसाद जोशीका अनुसार थलारासँगै जोडिएको खप्तड छान्नाका लेकाली क्षेत्र काटागाउँ, अनेर्थ, तुना, बामिली, जुकेनालगायत लेकमा पनि पुसमै दर्जनभन्दा बढी गाई, गोरू, बाख्रा, कुकुरको क्षति पु¥याएको छ ।

मध्यवर्ती क्षेत्रमा हरेक महिना चितुवा र भालुले पशुचौपायाको नोक्सान गर्न थालेपछि जोगाउनै मुस्किल परेको खप्तडछान्ना गाउँपालिका–३ लोखाडाका सर्जन रावलले बताउनुभयो । उहाँले भन्नुभयो, “गतवर्ष त चार महिनासम्म रातभर जाग्राम बस्नुपरेको थियो । साउनको पहिलो साता गोठबाटै चितुवाले बाख्रा लिएको दिनदेखि हरेक दिन चिन्ताजनक अवस्था भइरह्यो । चार महिनाको अवधिमा मात्रै पाँच गोरू र सात बाख्राको नोक्सान भएको छ ।”

घाँस काटेर गोठमै चौपाया पाल्नेबाहेक चरिचरन गर्न जङ्गल पु¥याउनेले घरपालुवा जनावर जोगाउन नसकेको रावलले बताउनुभयो ।

खप्तड राष्ट्रिय निकुञ्जको थलारा क्षेत्रमा पर्ने गाउँमा मात्रै बर्सेनि सयौँको सङ्ख्यामा घरपालुवा जनावर चितुवासहितका हिंश्रक वन्यजन्तुको आक्रमणमा पर्ने गरेका छन् । मध्यवर्ती क्षेत्रमा मात्रै नभइ चितुवाले जिल्लाका विभिन्न सामुदायिक वनमा पशुपालक किसानलाई दुःख दिने गरेको छ । रावलले वन्यजन्तुले क्षति पु¥याए तथ्य र तथ्याङ्क नहुँदा राहतमा पनि समस्या भएको बताउनुभयो । “कुन जङ्गलमा चितुवाले नोक्सान गरेको छ भनेर थाहा हुँदैन । कहिलेकाहीँ घटनास्थल भेट्न हप्ता दिन पनि लाग्छ । त्यसको मुचुल्का गर्न बेलामा प्रहरी आउँदैनन् । वडा कार्यालयबाट पनि ढिलाइ हुन्छ । आफन्त भेटिँदैनन् । त्यसपछि घटना सेलाउँदै जान्छ, यसले राहतमा समस्या हुने गरेको छ ।”

सङ्घर्ष गरिरहेमा भने ढिलाइ भए पनि राहत प्राप्त गर्न सकिने खप्तडछान्ना– ७ का फिट्टु खड्का बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अघिल्लो वर्ष चितुवाले घोडा खाँदा निकै दौडधुप गरेर कागज जुटाएपछि ? तीस हजार पाएको थिएँ । पशु चौपाया नोक्सानवापत सरकारले आधा रकम दिने गर्छ । त्यो पनि ठूलो राहत हो ।”

खप्तड राष्ट्रिय निकुञ्जले २०७६ सालयता सबै कागजात ल्याएर आउने पशुधनीलाई राहत दिँदै आएको जनाएको छ । राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पर्शुराम कडायतका अनुसार चार वर्षको अवधिमा चितुवाले ४६८ पशुधनको क्षति पु¥याएको कागजात आएपछि रु आठ लाख ९३ हजार ४६६ राहत दिएको बताउनुभयो । उहाँले पशुधनको क्षति पुर्‍याएको तस्बिर, प्रहरी मुचुल्का, वडाको सिफारिस ल्याएपछि राहतका लागि विभागमा पत्राचार गर्ने र आएपछि वितरण गर्ने गरिएको बताउनुभयो ।

किन जङ्गल छोड्छ चितुवा ?

डिभिजन वन कार्यालय बझाङका वरिष्ठ अधिकृत (उपसचिव) शम्भु तिवारीले जङ्गलमा आफ्नो आहारा नपाउँदा र दुईवटा भालेबीचद्वन्द्व हुँदा नसक्ने चितुवाले जङ्गल छोड्ने गरेको सुनाउनुभयो ।

तराईका विभिन्न जिल्लामा बाघले मान्छेको पनि सिकार गर्न थालेपछि गरिएको अध्ययनमा अधिकांश एकापसमा लडाइँ गर्दा नसक्नेले आफ्नो क्षेत्र बनाउँदै जङ्गल बाहिर जाने गरेको उहाँले बताउनुभयो । “केही समय पहिलेसम्म जङ्गलमा सिकार नपाएपछि बस्ती पसेको, मध्यवर्ती क्षेत्रमा आएको भन्ने थियो,” वरिष्ठ अधिकृत तिवारीले भन्नुभयो, “पहिले राष्ट्रिय निकुञ्जमा बाघ, चितुवाको आहारा चित्तल, मृग, हरिण, बदेँललगायत जनावरको चोरी सिकारी हुन्थ्यो । त्यसपछि आहारा खोज्नका लागि बाघ जङ्गल बाहिर जाने गर्दथ्यो भने आजभोलि एकापसमा भिडेर बाहिर जाने गरेको छ ।”

हाल भने वनमा चितुवाको आहारा पनि पर्याप्त भएको, चितुवा–बाघको सङ्ख्या पनि बढेको उहाँले बताउनुभयो । रासस