Latest News

रत्ननगरमा एकवर्षमा १९ किमी सडक कालोपत्रे

sadak nirmad

चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले एक वर्षमा करिब १९ किलोमिटर सडक कालोपत्रे गरेको छ । नगरपालिकाले अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा १२ दशमलब ६५ किलोमिटर सडक कलोपत्रे गरेको थियो भने ७ दशमलब १ किलोमिटर कालोपत्रे सडक मर्मत गरेको थियो ।

आर्थिक वर्ष २०८०÷०८१ मा सो नगरपालिकाले १८ दशमलब ४० किलोमिटर सडक कालोपत्रे गरेको छ भने ७ दशमलब ५५ किलोमिटर उच्चस्तरीय ग्राभेल गरेको छ । केन्द्र, प्रदेश र नगरपालिका तथा सडक बोर्डको समेत लगानीमा सडक कालोपत्रे गरिएको नगरप्रमुख प्रलाद सापकोटाले जानकारी दिनुभयो । नयाँ निर्माण गरिएकोे सडकको आवश्यकताअनुसार ग्राबेल र उच्च ग्राबेल गरिएको नगरप्रमुख सापकोटाले बताउनुभयो ।

सो नगरपालिकाले ग्रामीण क्षेत्र र बजारउन्मुख क्षेत्रमा नयाँ सडक कालोपत्रे गरेको हो । केन्द्र, प्रदेश र नगरपालिकाको बजेटबाट १४.२० किलोमिटर सडक कालोपत्रे गरिएको हो भने सडक बोर्डमार्फत ४.२० किलोमिटर कालोपत्रे गरिएको नगरपालिकाका पूर्वाधार शाखाका प्रमुख इन्जिनियर कृष्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

यसैगरी, यसै आर्थिक वर्षमा २.५० किलोमिटर फुटपाथसहितको नाला निर्माण गरिएको छ भने १.३८ किलोमिटर नाला निर्माण गरिएको छ । अघिल्लो आर्थिक वर्ष ४ किलोमिटर नाला निर्माण गरिएको थियो । यस्तै, १६ वटै वडाका भित्री सडकमा मोज्याक टायल लगाइएको छ । कालोपत्रे गर्न मापदण्ड नपुगेका र सडक आवश्यक रहेको ठाउँमा मोज्याक टायल र सडक ढलान गरिएको छ । त्यसैगरी पूर्वाधार निर्माणतर्फ सो नगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ मा ३१ वटा भवन निर्माण सम्पन्न गरेको छ ।

सो नगरपालिकाले ठेक्का प्रक्रियामार्फत सञ्चालन भएका नगर गौरवका योजनाअन्तर्गत डाइनामिक कन्ट्रक्सन प्रालिले निर्माण गरेको रत्ननगर नगरपालिकाको वडा नं–१० मा निर्माणाधीन हरियाली पार्कको करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको छ । थुप्रै योजना आर्थिक वर्ष २०८१÷०८२ मा निर्माण सम्पन्न हुने प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिनुभयो ।