Latest News

एमाले अध्यक्ष ओलीलाई बयानमा बोलाउने जाँचबुझ आयोगको तयारी

kp-oli

२३ र २४ भदौका घटनासम्बन्धी जाँचबुझ आयोगले बयानका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र काट्ने तयारी गरेको छ । ओलीलाई पत्र लेख्ने विषयमा आयोगका पदाधिकारीले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरिसकेका छन् । आयोगले बयान लिन ओलीसँग मात्र बाँकी छ । तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बुधबार बयान सकेको आयोगले बिहीबार सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग छलफल गरेको हो । अब तत्कालीन प्रधानमन्त्रीको पालो आएकाले कसरी अघि बढ्ने भन्नेमा प्रधानमन्त्रीसँग छलफल गरिएको आयोगका पदाधिकारीले बताए ।

‘ओलीले आयोगलाई नै अस्वीकार गर्ने र बयान दिन नजाने अभिव्यक्ति पटक–पटक दिँदै आएकाले उनी आयोगमा उपस्थित नै नभए वा बयान दिन इन्कार गरे के गर्ने भन्नेबारेमा प्रधानमन्त्रीसँग छलफल भयो,’ उनले भने । ती पदाधिकारीका अनुसार प्रधानमन्त्री कार्कीले संविधान र कानुनअनुसार गठन भएको आयोगमा कसैले बयान दिन्नँ भन्न नमिल्ने उल्लेख गर्दै कानुनअनुसार अघि बढ्न सुझाव दिएकी छन् ।

यस सन्दर्भमा आयोगलाई सरकारको सहयोग चाहिए गृहमन्त्री ओमप्रकाश अर्यालसँग समन्वय गर्न र आफूलाई जानकारी गराउन पनि प्रधानमन्त्री कार्कीले बताएकी छन् । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बयानमा उपस्थितिका लागि तत्कालीन प्रधानमन्त्री ओलीलाई छिट्टै पत्र काटिने बताए । ‘तत्कालीन प्रधानमन्त्री ओलीजीलाई बोलाउने क्रममा छौं । आयोगले अहिलेसम्म बोलाएका सबै आउनुभएको छ, उहाँ पनि आउनुहुन्छ भन्ने आयोगको विश्वास छ,’ उनले भने । ओली नआए के गर्ने तयारी छ भन्ने प्रश्नमा कार्कीले भने, ‘भोलिको कुरा भोलि नै हुन्छ ।’

आयोगका अनुसार बयानमा ओलीलाई सोधिने प्रश्न तयार भइसकेको छ । २३ भदौमा गरिएको दमन, सुरक्षाको तयारीलगायत विषयमा प्रश्न गरिने आयोगले जनाएको छ । आयोगले सामाजिक सञ्जाल बन्द गर्नुको कारण, प्रदर्शनका लागि जेन–जी युवाले अनुमति लिएकामा सरकार जानकार थियो कि थिएन जस्ता प्रश्न ओलीलाई सोधिने आयोगका एक सदस्यले बताए । कान्तिपुर दैनिकमा खबर छ ।