सुनौलो नेपालले चितवनको भरतपुरमा ‘भरतपुर कन्क्लेभ’ को आयोजना गरेको छ । शुक्रबार अर्थात् पुष १८ गते हुने प्यानल डिस्कसन कार्यक्रम भरतपुरको विकास मोडल, पर्यटन विकास र मेडिकल हबको रुपमा भविष्यको सम्भावनाको खोजीतर्फ केन्द्रित हुनेछ ।
भरतपुरस्थित होटल सिराइचुलीमा हुने कार्यक्रम तीन वटा प्यानलमा विभाजित हुनेछ । दिउँसो १ बजे सुरु हुने कार्यक्रममा शैक्षिक उद्योमी सुरेन्द्र सुवेदीले ‘मैले देखेको भरतपुर’ बारे मन्तव्य राख्नेछन् ।
कार्यक्रमको पहिलो सेसन भरतपुरको विकास निर्माणमा केन्द्रित हुनेछ । यस प्यानलमा भरतपुर महानगरकी मेयर रेनु दाहाल, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा प्यानलिस्टका रुपमा सहभागी हुनेछन् । यो सेसनमा वरिष्ठ पत्रकार राजेन्द्र बानियाँले सहजकर्ताको भूमिका निर्वाह गर्नेछन् ।
कार्यक्रमको दोस्रो प्यानलमा भरतपुरको पर्यटन विकासबारे छलफल हुनेछ । जहाँ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नबिल बैंकका सिईओ मनोज ज्ञवाली र डा. विश्व सुवेदीबीच पत्रकार समा थापाले सहजकर्ताको भूमिका निभाउने छिन् ।
कार्यक्रमको तेस्रो सेसनमा भरतपुरलाई कसरी मेडिकल हबको रुपमा विकास गर्न सकिन्छ भन्नेबारे प्यानल डिस्कसन हुनेछ । यस प्यानलमा भरतपुर अस्पतालका पूर्व अध्यक्ष डा. भोजराज अधिकारी, ओम मेघा श्री फर्माटिकल्सका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ, बिपी कोइराला क्यान्सर अस्पतालका निर्देशक डा. शिवजी पौडेल र सिटिजन्स लाइफ इन्स्युरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलबीचको छलफलमा प्रकाश ज्ञवालीले सहजता गर्नेछन् ।
कार्यक्रमको प्रमुख वक्तामा अर्थमन्त्री रामेश्वर खनाल र सञ्चारमन्त्री जगदीश खरेल विशेष अतिथिको रुपमा सहभागी हुनेछन् । उहाँहरुको सम्बोधनले कार्यक्रमलाई अर्थपूर्ण र आकर्षक बनाउने सुनौलो नेपालका अध्यक्ष मोहराज पौडेलले बताए । उनका अनुसार यो कार्यक्रमले भरतपुरको विकासमा नयाँ मार्ग निर्देश गर्नेछ ।