Latest News

विद्युत् खरिदमा ४३ करोड नोक्सान पुर्‍याएको भन्दै घिसिङलाई तत्काल बर्खास्त गर्न माग

kulman-ghising2022-07-31-04-33-19

जेन्जी मुभमेन्ट नेपालले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । मुभमेन्टले ऊर्जामन्त्री घिसिङलाई तुरुन्त बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्न भनेको छ । यस्तै, प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवाललाई तत्काल निलम्बन गरी सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत छानबिन शुरू गर्न जेन्जी मुभमेन्टले सरकारसँग माग गरेको छ । मन्त्री घिसिङ र प्राधिकरणका कार्यकारी निर्देशक सिलवालको मिलेमतोमा प्राधिकरणलाई झण्डै ४३ करोड नोक्सान पुर्‍याउने गरी भारतीय कम्पनीसँग सम्झौता गरेको सार्वजनिक भएपछि जेन्जी मुभमेन्टले कारबाहीको माग गरेको हो । मुभमेन्टले यो सम्झौतालाई ‘राष्ट्रघाती’ भन्दै त्यसमा संलग्नविरुद्ध कडा कारबाहीको माग गरेको छ।

उक्त सम्झौता विद्युत् नियमन आयोगको स्वीकृतिविना गरिएको तथ्य प्रष्ट भइसकेको र यसले नेपालको आर्थिक स्वाधीनता र सार्वजनिक स्वार्थमाथि गम्भीर प्रहार गरेको मुभमेन्टको टिप्पणी छ । मुभमेन्टले विद्युत् नियमन आयोगले स्वतन्त्र छानबिन समिति गठन गरी सम्पूर्ण विद्युत् सम्झौता सार्वजनिक गर्नुपर्ने, राष्ट्रघाती सम्झौतामा संलग्नहरूलाई जेल हाल्ने र राज्यका सम्पत्ति फिर्ता गराउने कानूनी प्रक्रिया तुरुन्त शुरू गर्नुपर्ने माग गरेको छ ।

जेन्जी मुभमेन्टका प्रवक्ता विजय शाहले वक्तव्य जारी गर्दै तत्काल सरकारले जिम्मेवारहरूलाई हटाएर छानबिन थाल्न माग गरेका छन् । ‘जेनजी विद्रोह अपहरण गरेर बनेको सरकारका मन्त्रीहरू देशलाई लुट्न उद्दत रहेको कुरा पुष्टि भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘तत्काल मन्त्रीबाट बर्खास्त गर्दै कठोर कारबाही गर्न आग्रह गर्दछौं । होइन भने कठोर संघर्ष गर्न नेपाली युवाहरू बाध्य हुनेछन् ।