चितवनका इच्छाकामना गाउँपालिका–५, स्थित तुईन खोलामा निरन्तर ढुंगा खस्न थालेपछि नारायणघाट–मुग्लिन सडक खण्ड पूर्ण रुपमा बन्द गरिएको छ । यसअघि यो सडक खण्ड भएर पोखरा जाने सवारी साधान आवातजावत गरिरहेका थिए ।
अहिले दिउँसोबाट पूर्ण रुपमा बाटो बन्द गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए । ‘अहिले फिस्लिङमा पनि पहिरो खसेर अवरुद्ध छ, तुईन खोलामा जोखिम बढेकाले पूर्ण रुपमा बाटो बन्द गरिएको छ’–प्रहरी उपरीक्षक पुरीले भने । तुईन खोलामा स–साना पहिरो खस्दा विहान एकतर्फी बाटो खुला गरिएको थियो । काठमाडौं जाने सवारी साधनलाई भने विहानैदेखि सुरक्षित ठाउँमा रोकेको थिए ।
प्रहरीका अनुसार कुरिनटार, मुग्लिन, रामनगर, आँपटारी, पोखरा बसपार्क, नाराणघाट बसपार्क, गोन्द्राङ, टिकौली, रत्ननगरको शान्ति चोक, पर्सा, भण्डारा, लोथरलगायत एक दर्जन ठाउँमा सवारी साधनहरुलाई सुरक्षित ठाउँमा रोकेको छ । अहिले सडकमा यात्रुबाहक बसहरू खासै नरहेको र धेरै जसो फर्काइएको छ भने हाल ट्रक, ग्याँस बुलेटहरू मात्रै बाटोमा रोकिएका छन् ।
दिउँसोसम्म धादिङ र पोखरातर्फ सवारी साधन गुडेपनि अहिले धादिङतर्फ जाने सवारी भने बाटोमै रोकिएका छन् । इच्छाकामना गाउँपालिका–३, फिस्लिङमा पहिरो खसेपछि पृथ्वीराजमार्ग अवरुद्ध बनेको हो । यस्तै चितवन प्रहरीले निरन्तर वर्षा भएकाले नदी नटीय क्षेत्रका बासिन्दाहरुलाई सुरक्षित रहन आग्रह गरेको छ । आज दिउँसो प्रहरीले नारायणी नदी क्षेत्रमा माइकिङ गर्दै सुरक्षित रहन र नदी क्षेत्रमा नजान अनुरोध गरेको थियो ।