नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको रक्षा गर्दै कार्यान्वयनका निम्ति सक्रिय हुन सबैलाई आह्वान गर्नुभएको छ । संविधानलाई संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ ।
संविधान दिवसका अवसरमा पेरिस डाँडास्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा आज आयोजित कार्यक्रममा अध्यक्ष दाहालले संविधानलाई बचाउनका निम्ति आफूले सक्दो पहल गरेको बताउनुभयो । यही भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका क्रममा केही घुसपैठ भएको उहाँको भनाइ छ ।
“जेनजीले उठाएका माग हामीले आजभन्दा १० वर्ष अगाडिदेखि नै उठाउँदै आएका हौँ, तर अहिले जेनजीले आन्दोलन गर्नुपर्ने र दर्जनौँ युवाले ज्यान गुमाउनुपर्ने परिस्थिति सिर्जना हुनु राम्रो होइन”, अध्यक्ष दाहालले भन्नुभयो । आफ्नो पार्टी सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सङ्घीयतालगायत महिला, दलित, आदिवासी जनजाति, मधेसी र मुस्लिम समुदायको संवैधानिक अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै उहााले अब हिनाताबोधभन्दा पनि सक्रियताका साथ अगाडि बढ्न आग्रह गर्नुभयो । रासस