Latest News

चितवनका सात सय चेपाङलाई सुधारिएको चुलो

3176bf19-5a83-42fa-a41c-7ac9e31a73f2

चितवन । चितवनको विकट पहाडी क्षेत्रमा बसोबार गर्ने सीमान्तकृत चेपाङ समुदायलाई सुधारिएको चुलो वितरण गरिएको छ । जिल्लाको इच्छाकामना गाउँपालिका वडा नं १ का तीन वटा चेपाङ बस्तीका ७०० घरधुरीलाई सुधारिएको चुलो वितरण गरिएको छ ।

वाताबरण संरक्षण र महिलाहरुको स्वास्थ्य जोगाउन सौराहा स्थित सपना भिलेज सोसल इम्प्याक्टले यहाँका चेपाङ समुदायलाई चुलो वितरण गरेको हो ।

गाउँपालिकासंगको सहकार्यमा सपना भिलेजले पहिलो दिन आइतबार हात्तीवाङका २०० घरघुरी, सोमबार भाराङका ३५० घरधुरी र मंगलबार कोलभन्ज्याङका १५० घरधुरीलाई सुधारिएको चुलो वितरण गरिएको अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । कार्यक्रममा बागमती प्रदेशका वन तथा वाताबरण मन्त्री कृष्ण सिलवाल, पूर्व सांसद कृष्णभक्त पोखरेल, गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल र सपना भिलेजका अध्यक्ष गिरीले सयुक्त रुपमा सुधारिएको चुलो हस्तान्तरण गर्नुभएको थियो ।

सपनाका अध्यक्ष गिरीले सात बर्ष अघिदेखि चेपाङ समुदायका जीवन स्तर उकास्ने र उनीहरुको जीवन शैलीमा परिर्वतन ल्याउन काम गरिरहेको भन्दै शिक्षा, स्वास्थ्य र आयआर्जनलाई प्राथमिकता दिएको बताउनुभयो । वाताबरण संरक्षण र चेपाङ समुदायका महिलाहरुको स्वास्थ्य जोगाउन निःशुल्क चुलो प्रदान गरिएको उहाँको भनाई छ । दाउरामा आगो बालेर खाना पकाउदा निस्किने धुवाले चेपाङ समुदायको स्वास्थ्य विग्रिएको हामीले पाएका छौं अध्यक्ष गिरीले भन्नुभयो हाम्रो पहिलो प्राथमिकता स्वास्थ्य जोगाउनु हो । अध्यक्ष गिरीले १९ लाख ८० हजार लगानी गरेर तीन वटा चेपाङ बस्तीका ७०० घरघुरीलाई चुलो वितरण गरिएको जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री सिलवालले पहाडी क्षेत्रको विकासको लागि पूर्वाधार निर्माण र चेपाङ समुदायको जीवन स्तर उकास्न योजना बनाएर काम गरिरहेको बताउनुभयो । सपना भिलेजले गरेको चेपाङ लक्षित कार्यक्रमले राज्यलाई सहयोग भएको उहाँको भनाई छ । गाउँपालिकाका अध्यक्ष गुरुङले चेपाङ समुदायको विकासको लागि आयआर्जन, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । सपना भिलेजसंगको सहकार्यले काम गर्न सहज भएको भन्दै चेपाङ समुदायमा परिर्वतनको चरण सुरु भइसकेको बताउनुभयो । सपना भिलेजसंग हामीले सहकार्य गरी काम गरेका छौं उहाँले भन्नुभयो यसले हामीलाई धेरै नै सहज भएको छ ।