रत्ननगर । नारी जागरण केन्द्र रत्ननगरको २७औँ बार्षिक साधरण सभा शनिबार गरिएको छ। रत्ननगर नगरपालिका वडा नं ३ का वडाध्यक्ष सोहेन्द्र राज खरेल प्रमुख अतिथि रहेको सो कार्यक्रममा केन्द्रले तीन जना विद्यार्थीलाई छात्राबृत्ती वितरण तथा चार जना उद्यमी महिलाहरुलाई सम्मान गरिएको हो ।
केन्द्रले स्थापना गरेको छोरी शिक्षा अक्षयकोषबाट नेपाल माविमा कक्षा १२ मा अध्यायनरत सिम्रन मगर, सोही विद्यालयमा कक्षा १२ मा अध्यायनरत मुस्कान कुमारी बैठा र कक्षा ११ मा अध्यायनरत इश्वरी चौधरीलाई जनही १० हजारका दरले छात्राबृत्ती वितरण गरिएको महासचिव सरस्वती लामाले जानकारी दिइन । साधारण सभामा केन्द्रले सञ्चालन गरेको सीप मुलक तालिम लिएर उद्यमी बनेका रुपा कट्टेल, माया गौतम, गीता पौडेल र गुलाबो खातुनलाई सम्मान गरिएको छ। कार्यक्रममा समाजसेवी आमा समुहले छोरी शिक्षा अक्षयकोषमा ५ हजार १०० रूपैया सहयोग गरेका छन् ।
सोही अबसरका बोल्दै वडाध्यक्ष खरेलले नारी नागरण केन्द्रले सञ्चालन गर्ने महिला उद्यमशिलता विकास कार्यक्रममा वडा कार्यालय सहकार्य गरेर काम गर्न तयार रहेको बताए। केन्द्रले महिलाहरुलाई उद्यमी बनाउन देखिने गरि काम गरेको भन्दै उनले केन्द्रले सञ्चालन गर्ने हरेक कार्यक्रममा स्थानीय सरकारले सहयोग गर्ने बताए । केन्द्रकी अध्यक्ष विमला सुवेदी खनालले बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै केन्द्रले महिला सशक्तिकरण, सीप विकास, शिक्षा, स्वास्थ्य तथा समाजमा सुसाशन कायम गराउने गरि काम गरिरहेको जानकारी दिइन् । केन्द्रकी उपाध्यक्ष विष्णुकुमारी नेपालले स्वागत मन्तब्य राखेको कार्यक्रममा महासचिव लामाले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष विभा डल्लाकोटीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन ।
कार्यक्रममा रत्ननगरकी निवर्तमान उपमेयर विमला दुवाडी, राष्ट्रिय सहकारी महासंघकी सञ्चालक सदस्य तथा प्रदेश संयोजक पार्वती न्यौपाने, वडा सदस्य इश्वर जमकट्टेल, अहिंसावादी बौद्ध गुम्बाका अध्यक्ष कृष्ण बहादुर तामाङ, सिद्देश्वरी जलदेवी संकटा मन्दिरका अध्यक्ष दिपक थापा, केन्द्रकी कार्यसमिति सदस्य निर्मला खड्का लगायतले मन्तव्य राखेका थिए । साधारण सभाको बन्दसत्रले अध्यक्ष, महासचिव र कोषाध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।