Latest News

सहकारी पीडित र रास्वपा कार्यकर्ताबीच भरतपुरमा हानाहान

rabi-hari

चितवन । चितवनमा सहकारी पीडित आन्दोलनकारी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच हानाहान भएको छ । शनिबार आयोजित रास्वपाको कार्यक्रम स्थलमा आन्दोलनकारी र रास्वपा कार्यकर्ताबीच झडप भएको हो ।

रास्वपाले भरतपुरको नारायणी कला मन्दिरमा दुग्ध क्षेत्रको विकास विषयक नीति मन्थन कार्यक्रम राखेको थियो । कार्यक्रममा रास्वपा सभापति रवि लामिछानेले संवोधन गर्दै थिए ।

कार्यक्रम स्थल बाहिर सहकारीपीडित सहितको टोलीले नाराबाजी गरिरहेको थियो । उक्त टोली कार्यक्रममा स्थलमा जान खोज्दा प्रहरीले रोकेपछि हानाहानको स्थिति सृजना भएको जनाइएको छ । सहकारी पीडितको पक्षमा ऐक्यबद्धता जनाउँदै एमाले र काँग्रेस निकट विद्यार्थीहरुको संगठन र युवाहरुको संगठन पनि पुगेको थियो ।

सहकारी पीडितलाई संवोधन गर्ने क्रममा अनेरास्ववियु चितवनका जिल्ला अध्यक्ष हरि आचार्य र नेपाल विद्यार्थी संघका नेता अनमोल अधिकारीसहित प्रहरीले करिब ५ जनालाई नियन्त्रणमा लिएको अनेरास्ववियु चितवनका उपाध्यक्ष सरोज तिमिल्सिनाले जानकारी दिए ।

उनले सहकारी पीडितको तर्फबाट कुरा राख्न आफूहरु कार्यक्रममा जान खोज्दा गेट लगाएर बाहिर नै राखिएको र भित्रबाट रास्वपा कार्यकर्ताले ढुंगा हान्न सुरु गरेपछि दुई पक्षबीच हानाहानको स्थिति सृजना भएको बताए ।

झडप हुँदा केही आन्दोलनकारी घाइते पनि भएका छन् । उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । एक जनाको खुट्टा र एक जनाको निधारमा चोट लागेको छ । आन्दोलनकारीलाई नियन्त्रणमा लिएको विषयमा भने प्रहरीले आधिकारिकरुपमा सञ्चारकर्मीहरुलाई जानकारी दिन सकेको छैन ।

रास्वपाकी भरतपुर महानगर सभापति सिता ज्ञवालीले भने भित्रबाट ढुंगा नहानएिको बताइन् । उनले बाहिरबाट भित्र ढुंगा प्रहार भएपछि त्यसलाई बाहिर फालिएको हुन सक्ने बताइन् । उनले बाहिरबाट भित्र आउन खोज्दा छेकेपछि प्रहरीलाई पनि पिटेको भन्ने सनेको बताइन् । आफूहरु पर्खाल भित्र भएकाले बाहिरको सबै दृश्य देख्न नपाएको उनको भनाइ छ । सहकारी पीडितले न्याय पाउनुपर्छ भन्ने पक्षमा आफूहरु पनि भएको बताउँदै उनले ढुंगा हानेर समस्या समाधान नहुने बताइन् ।

समस्या समाधान गर्न सरकारसँग माग गर्नुको साटो रवि लामिछानेलाई आरोप लगाउँदै नाराबाजी गर्नु भनेको परिचालित भएर रवि विरुद्ध लाग्नु भएको उनको भनाइ छ । सहकारी पीडितलाई भित्र प्रवेश गर्न पार्टीले रोक नलगाएको बताउँदै उनले प्रहरीले सुरक्षाका कारण रोक लगाएको हुन सक्ने बताइन् ।

तेस्रो सार्वजनिक सुनुवाइलगायत पार्टीको कार्यक्रममा सहभागी हुन रास्वपाका सभापति लामिछाने चितवन आएका थिए । हिजो चितवनको मुग्लिनमा भएको सार्वजनिक सुनुवाई कार्यक्रमा पनि सहकारी पीडितहरुले कालो ब्यानर देखाउँदै आन्दोलन गरेका थिए ।