रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १२ चिसापानीमा असोज १७ गतेबाट २६ गते सम्म श्रीमद् देवीभागवत नबाह ज्ञानमहायज्ञ हुने भएको छ । वडा दसैंको अबसर पारेर चिसापानी भगवती मन्दिर व्यवस्थापन समितिले महायज्ञको आयोजना गरेको हो ।
आयोजकले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी महायज्ञको उद्देश्य र तयारीको बारेमा जानकारी दिएको हो । धार्मिक तथा एतिहासिक महत्व बोकेको चिसापानीलाई त्रिवेणी धामको रुपमा विकास गर्ने उद्देश्यले महयज्ञ आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ मुल समारोह समितिका संयोजक सोमनाथ घिमिरेले जानकारी दिए । ज्योतिस पण्डित निर्मल पौडेलले कथाबाचन गर्ने सो महायज्ञबाट संकलित रकमबाट निर्माणाधिन किरियापुत्री भवन निर्माण पुरा गर्ने, पानीको व्यवस्थापन गर्ने, मन्दिर पुनर्निर्माण गर्ने, आवश्यक जग्गा खरिद गर्ने उद्देश्य रहेको अध्यक्ष घिमिरेले जानकारी दिए ।
नौं दिन सम्म चल्ने महायज्ञबाट ७० लाख संकलन गर्ने र ५ लाख खर्च लाग्ने अनुमान गरिएको महायज्ञका सहसंयोजक सुवास घिमिरेले जानकारी दिए । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले उद्घाटन गर्ने सो महायज्ञमा वडा दसैंको लागि सामुहिक जमरा राख्ने, दैनिक सन्ध्या महाआरती गर्ने, पाठपारायण गरिने सहसंयोजक घिमिरेले जानकारी दिए । वडा नं १२ का वडाध्यक्ष सुन्दरमणि सुवेदीले चिसापानी क्षेत्रलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न आवश्यक पर्ने सहयोग गर्ने प्रतिबद्धता जनाए । प्रदेश सरकारको १० लाख, रत्ननगर नगरपालिकाको १० लाख र वडा कार्यालयको एक लाख बराबरको फर्निचर सहयोगमा किरियापुत्री भवन निर्माण भइरहेको छ ।
महायज्ञबाट संकलित भएको रकमबाट उक्त भवनको निर्माण सम्पन्न गर्ने योजना रहेको अध्यक्ष घिमिरेले बताए । चिसापानी क्षेत्रमा नवरात्री मेलाको सुरुवात महायज्ञबाटै गर्ने र बार्षिक रुपमा उक्त मेला चिसापानीमा लाग्ने कुराको प्रचारप्रसार गर्ने उनले बताए । पत्रकार सम्मेलनमा शान्तिकुञ्ज सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष निर्मला दंगाल, मन्दिर व्यवस्थापन समितिकी सल्लहाकार तथा महायज्ञ कलशयात्र उपसमितिकी संयोजक लक्ष्मी घिमिरेले मन्तव्य राखेका थिए ।