रत्ननगर । रत्ननगरका विपन्न समुदायका महिलाहरुको स्वास्थ्य जोगाउन सोमबार सुधारिएको चुलो वितरण गरिएको छ । सौराहा स्थित सपना भिलेज सोसल इम्प्याक्टले रत्ननगर वडा नं ७ पडेरियाका ४७ धरधुरीलाई सुधारिएको चुलो वितरण गरेको हो ।
आर्थिक अभावका कारण सिलिण्डर ग्यास प्रयोग गर्न नसकेका समुदायको पहिचान गरी सुधारिएको चुलो प्रदान गरिएको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले बताए । वनप्रतिको निर्भरता हटाउदै महिलाहरुको स्वास्थ्य जोगाउन सुधारिएको चुलो वितरण कार्यलाई तीब्र पारिएको उनले बताए । धुवाँबाट लाग्ने रोगले विपन्न समुदायका महिलाहरु ग्रसित हुने गरेको भन्दै उनले सुधारिएको चुलो प्रयोग गर्दा धुवाँ कम आउने महिलाहरु रोगको सिकार हुन नपर्ने बताए ।
विपन्न समुदायलाई ८० प्रतिशत अनुदानमा चुलो प्रदान गरिएको हो । २ हजार ६०० पर्ने चुलोलाई ५०० रुपैया लिएर वितरण गरिएको गिरीले बताए । पैसा हालेर किनेको चिजको माया हुन्छ उनले भने यो मैले किनेको हो प्रयोग गर्नुपर्छ भन्ने मानसिकताको विकास गर्न थारै पैसा लिएर चुलो प्रदान गरेका हौं । सपना भिलेजले विपन्न समुदायलाई आवास निर्माण, सीपमुलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
मुसहर समुदायमा वितरण गरिएको सुधारिएको चुलो प्रभावकारी भएपछि निकटका बस्तीमा रहेका विपन्न समुदायलाई आधुनिक सुधारिएको चुलो वितरण गरिएको हो । यस अघि सपना भिलेजले मुसहर समुदायका ५० घरधुरीलाई सुधारिएको चुलो वितरण गरेको थियो । सपना भिलेजले चितवन जिल्लामा विपन्न समुदायका लागि ४५ वटा घर निर्माण गरिसकेको छ । त्यसमध्ये २० बढी मुसहर समुदायका लागि आवास निर्माण गरिएको अध्यक्ष गिरीले बताए ।