रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–५, झुवानी मा ६०औँ बालदिवसको अवसरमा वडाध्यक्षसँग बालबालिका कार्यक्रम सम्पन्न भएको छ ।
‘बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ झुवानी सामुदायिक पुस्तकालय, झुवानी सामुदायिक महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजना र रत्ननगर नगरपालिका वडा नं–५ को सहयोगमा वडाध्यक्षसँग बालबालिका कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बालबालिकाले खेलुकुद सामग्रीको अभाव, बालमैत्री पुस्तकालय हुनुपर्ने, स्कुल बसमा विद्यार्थीको चाप बढेको, खेलकुदको लागि चौरको व्यवस्थापन नभएको लगायतका प्रश्नहरु वडाध्यक्ष बालकृष्ण चापागाईंलाई सोधेका थिए ।
विद्यार्थीले राखेका प्रश्नहरुको तत्काल सम्बोधन गर्ने प्रतिबद्धतासहित वडाध्यक्ष चापागाईंले बालबालिकासँग सम्बन्धित कुनै पनि माग पूरा गर्न आफू तत्पर रहेको बताए । बालबालिकाले आफूलाई परेको समस्या खुलस्त राख्न र आफ्नो अधिकारको लागि सधैँ अग्रसर भई पठनपाठन, खेलकुद, अतिरिक्त क्रियाकलापमा लाग्न उनले प्रेरित गरे । उनले बालबालिकाहरुमा खानपानदेखि संस्कार र संस्कृतिमा पनि ध्यान दिन सुझाव दिँदै अभिभावकसँग सल्लाह गरेरमात्र अगाडि बढ्न जोड दिए ।
सहकारी संस्थाका व्यवस्थापक बबिता ढकालले सञ्चालन गरेको कार्यक्रम सहकारीका अध्यक्ष साबित्रीकुमारी पण्डितको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा वडाभित्रका ३२५ जना बालबालिकाले सहभागिता जनाएको झुवानी सामुदायिक पुस्तकालयका अध्यक्ष अनिल अर्यालले बताए ।