Latest News

सरकारी कार्यालयमा बसेर शेयरको कारोबार गर्न नपाइने, टीएमएस प्रतिबन्ध

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उद्योग, वाणिज्य तथा आपूूर्ति मन्त्रालय र मातहतका निकायसँग सम्बन्धित विषयमा छलफल गर्नुहुँदै । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस

काठमाडौं, २५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सेवाग्राहीको काम प्रभावित भएपछि सरकारी कार्यालयमा शेयर कारोबार गर्ने प्रणाली टीएमएसमाथि प्रतिबन्ध लगाइएको बताएका छन् । मंगलवार सामाजिक सञ्जालमा लेख्दै उनले सरकारी कार्यालयमा बसेर शेयर कारोबार गर्नु कानूनी दृष्टिले अमान्य भएको स्पष्ट पारेका हुन् ।

‘सरकारी कार्यालयमा बसेर शेयर बजारमा निजी कारोबार गर्नु कानूनी दृष्टिले अमान्य छ । यसले सरकारी कामकाजमा प्रतिकूल प्रभाव परेको छ र सेवाग्राहीको काम प्रभावित भएको गुनासो आइरहेको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यही जनगुनासोलाई सम्बोधन गर्दै अब सरकारले देशभरिका सबै सरकारी कार्यालयमा शेयर कारोबार गर्ने प्रणाली (टीएमएस)माथि प्रतिबन्ध लगाएको छ । सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा टीएमएस नचल्ने बनाउन निर्देशनसमेत दिइएको छ । सरकारी कार्यालयमा अब सरकारी काममात्र गर्न अनुरोध गर्दछु ।’

सरकारी कार्यालयमा कर्मचारी शेयर कारोबारमा व्यस्त रहँदा पछिल्लो केही समययता सेवाग्राहीको काम नै प्रभावित भएको जनगुनासो आएको थियो ।