भरतपुर । दोस्रो चितवन गोल्डकप असोज ३ गतेदेखि हुने भएको छ । भरतपुर फुटबल क्लबको आयोजनामा हुन लागेको गोल्डकपको विजेताले छ लाख र उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्ने छन् । असोज ३ गतेदेखि १२ गतेसम्म हुने गोल्डकपमा ए डिभिजन र नेपाल सुपर लिग खेल्ने टिमसमेत गरी जम्मा १० वटा टिमले सहभागीता जनाउने आयोजकले जानकारी दिएको हो ।
आयोजक भरतपुर फुटबल क्लबले आइतवार पत्रकार सम्मेलनगरी गोल्डकपका विजेताले पाउने शिल्ड सार्वजनिक गरेको छ । गोल्डकपका खेलहरु नेपाल प्रहरी शिक्षालयको खेल मैदानमा हुने दोस्रो चितवन गोल्डकपका संयोजक धुर्व भुसालले जानकारी दिए । चितवन जिल्लाकै सर्वाधिक धनराशिको यस प्रतियोगितामा विभिन्न विधामा खेलाडीहरुलाई पुरस्कार दिइने उनले बताए । प्रतियोगिता सम्पन्न गर्न करिव ५५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।
प्रतियोगिताको मुख्य स्रोत प्रायोजक र टिकटलाई मानिएको छ । गोल नेपाल डट कमबाट खेलको प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए । करिव ४० हजार दर्शकले मैदानमा नै उपस्थित भई खेलको अवलोकन गर्ने अपेक्षा गरिएको छ । दर्शकका लागि पहिलो चरणका खेलमा ५०, क्वाटर र सेमिफाइनलमा खेलमा १०० र फाइनल खेलमा २०० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा शैक्षिक परामर्शदाता गोल्डेन इमिनेन्ट र सह प्रायोजकमा हानामी इन्टरनेशनल रहेका छन् ।
भरतपुर फुटबल क्लबले यसअघि २०७९ भदौमा पहिलो संस्करणको चितवन गोल्डकप आयोजना गरेको थियो । दोस्रो संस्करणको गोल्डकप आयोजना गर्नका लागि अखिल नेपाल फुटबल संघबाट स्वीकृति प्राप्त भइसकेको चितवन गोल्डकपका मिडिया अफिसर सुशिल पन्तले जानकारी दिए । यस प्रतियोगितले भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन समेत सहयोग गर्ने उनले बताए ।