चितवन, २१ भदौ। यही सेप्टेम्बरमा क्यानडामा हुने विश्वकप क्रिकेट लिग– २ को त्रिकोणीय सिरिजको तयारीका लागि श्रीलंका पुगेको नेपाली राष्ट्रिय टिमले श्रीलंका डेभलोपमेन्ट टिमविरुद्ध १५९ रन बनाएको छ । शुक्रबार श्रीलंकाली टिमले टस जितेर नेपाली टिमलाई पहिला ब्याटिङको निम्तो दिएको थियो ।
नेपाली टिम ४० ओभर मात्र टिक्न सक्यो र १५९ रन जोड्यो । नेपालका लागि सर्वाधिक रन ओपनर कुशल भुर्तेलले बनाए । उनले ५० बलमा ४३ रन बनाए । यस्तै, कुशल मल्लले ५५ बलमा ३५ रन बनाए । अब केही समयपछि श्रीलंकाले ब्याटिङ सुरु गर्नेछ ।
तीनवटा अभ्यास खेलका लागि श्रीलंका पुगेको नेपाली टिमले एक मात्र खेल खेल्न पाएको हो । दुईवटा खेल वर्षाका कारण रद्द भएका थिए ।