रत्ननगर । उद्योगी व्यवसायीहरुले पूर्वी चितवनको विकासको लागि स्थानीय सरकारका प्रमुुख संग सहकार्यको प्रस्ताब गरेका छन् । पर्यटनलाई केन्द्र विन्दु मानेर पूर्वी चितवनको विकास गर्ने उद्देश्यले गठन भएको पूर्वी चितवन उद्योग वाणिज्य तथा पर्यटन व्यवसायी समन्वय समितिले यहाँका चार वटा नगरपालिकाका मेयरसंग सहकार्यको प्रस्ताब गरेका हुन् ।
पूर्वी चितवनको विकासको लागि गुरुयोजना निर्माण गर्ने र तेस्रो पर्यटकीय गन्तव्य सौराहालाई सिरानी हालेर सडक सञ्जालको विकास गर्ने योजना रहेको रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष तथा समितिका संयोजक शंकर गिरीले बताए । स्थानीय सरकारको सहयोग विना पूर्वी चितवनको विकास असम्भव रहेको हुँदा स्थानीय सरकारका प्रमुखहरुलाई सहकार्यको प्रस्ताब गरिएको उनको भनाई छ । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटा, खैरहनीका मेयरका मेयर शशीकुमार खनिया, कालिकाका मेयर विनोद रेग्मी र राप्तीका उपमेयर देवेन्द्र लामालाई समन्वय समितिले पूर्वी चितवनको एकीकृत विकासका लागि लिखित प्रस्ताब गरेको हो ।
समन्वय समितिका संयोजक गिरीको नेतृत्वमा पदाधिकारी तथा सदस्यहरु सहितको टोली चारवटै पालिकामा पुगेर प्रस्ताबपत्र पेश गरेका थिए । प्रस्ताब पत्रमा समन्वय समिति गठनको उद्देश्य, समितिको नामावली तथा प्रारम्भिक योजना समावेश गरिएको छ । पूर्वी चितवनको एकीकृत विकासको लागि तीनै तहको सरकारको लगानी आवश्यक रहेको ठहर गर्दै स्थानीय सरकारका प्रमुखहरुलाई अघि सारेर केन्द्र र प्रदेश सरकारबाट बजेट निकासाको लागि पहल गर्न आग्रह गरिएको संयोजक गिरीले बताए । पूर्वी चितवनको आर्थिक तथा सामाजिक विकासको लागि एकीकृत गुरुयोजना निर्माण गर्ने र सोही अनुसार काम गर्न बजेटको आवश्यकता पर्ने भएकाले सरकारी सहयोग खोजिएको उनको भनाई छ । समन्वय समितिले सौराहाको पर्यटन विकाससंगै धार्मिक पर्यटनको विकास गर्न पर्यटकीय स्थलहरुको पहिचान र प्रवद्र्धधन, धार्मिक पर्यटकीय क्षेत्रको प्रवद्र्धनलाई जोड दिएको छ ।
पर्यटन क्षेत्रमा आएका समस्याहरुको सामाधान, आर्थिक प्रगतिको लागि गेम चेन्जर मानिएको मझिमटार शक्तिखोर सुरुङ्ग मार्ग तथा बहुउद्धेश्यीय परियोजना, रत्ननगर शक्तिखोर मझवाङ्ग भण्डारा सौराहा आन्तरिक सडक संजाल निर्माण एवं स्तरोन्नती गरी यातायात व्यवस्थापन र उद्योग करिडोरका लागि क्षेत्र पहिचान गरी विकासको मोडल अगाडि बढाउने प्रारम्भिक योजना रहेको छ । रेवान सौराहाका अध्यक्ष तथा समन्वय समितिका सदस्य ध्रुव गिरीले मुलुकको तेस्रो पर्यटकीय गन्तव्य सौराहालाई राज्यले अझै पर्यटन क्षेत्र घोषण नगरेको भन्दै आपत्ती जनाए । तेसो गन्तव्य भनेर सौराहालाई ट्याग लगाइयो उनले भने पर्यटन क्षेत्र घोषणा गरेर विकास गर्ने तर्फ सरकार लागेन । सौराहा अथास्थितिमा रहदा समग्र पूर्वी चितवन नै विकासको हिसावले पछाडि परेको बताए ।
उनले सौराहालाई केन्द्रविन्दु मानेर सडक सञ्जालको विस्तार, पर्यटकीय सम्भावना भएका क्षेत्रको पहिचान र विकास गर्न आवश्यक रहेको बताए । अध्यक्ष गिरीले पूर्वी चितवनका चारवटै स्थानीय तहका प्रमुखहरु मिलेर रिङरोड निर्माण गरी पर्यापर्यटनको विकासको योजना बनाए निजीक्षेत्रले सहयोग गर्ने बताए । रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरीको संयोजक रहेको समन्वय समितिको सह संयोजकमा उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष कुमार खनाल र क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष गंगा गिरी, सदस्य सचिवमा उद्योग संघ रत्ननगर समितिका अध्यक्ष उमाकान्त पौडेल, सदस्यहरुमा राप्ती उद्योग वाणिज्य संघका कार्यबहाक अध्यक्ष ओम डल्लाकोटी, उद्योग संघ खैरहनीका अध्यक्ष युवराज पाठक, उद्योग संघ राप्तीका अध्यक्ष खिलराज घिमिरे, उद्योग संघ कालिकका अध्यक्ष अन्तोष बम्जन, रेवान सौराहाका अध्यक्ष ध्रुव गिरी, साना पर्यटन व्यवसायी समितिका अध्यक्ष छूना रेग्मी र खोलेसिमल बजार व्यवस्थापन समितिका अध्यक्ष सविता अधिकारी रहेका छन् । संरक्षक सल्लहाकारमा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य अनिलकृष्ण श्रेष्ठ रहेका छन् ।