भरतपुर । नारायणगढ–मुग्लिन सडकअन्तर्गत पर्ने भरतपुर महानगरपालिका–२९, सिमलतालमा दुईवटा यात्रुवाहक बस दुर्घटनामा परेको एक महिना पूरा भएको छ ।
गएको असार २८ गते बिहान काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश०३–००६ ख १५१६ नम्बरको एन्जल बसलाई सिमलतालमा खसेको लेदोसहितको पहिरोले सोहोरेर त्रिशूली नदीमा खसालेको थियो । दुई बसमा गरी ६५ जना सवार थिए । तीमध्ये तीन जनाले पौडिएर ज्यान जोगाएका थिए ।
यसबीचमा पहिरोले बगाएका बस र यात्रुको खोज तथा उद्धारमा गरिएका सबै प्रयास असफल भए । नारायणी नदीको विभिन्न स्थानमा फेला परेका २४ वटा शवमध्ये २० वटा शवको सनाखत भएको छ । पछिल्लोपटक भरतपुर–२६, सिसुवारमा फेला परेको एउटा शव वीरगन्जका ४५ वर्षीय हरिन्द्र पण्डितको भएको पुष्टि भएको छ ।
उनी वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बसमा सवार थिए । सनाखत भएका शवहरुमध्ये १५ जना नेपाली र पाँच जना भारतीय रहेका छन् ।
अझै कम्तीमा ३८ यात्रु र दुईवटा बस बेपत्ता छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार बेपत्ता बसको खोजी कार्य जारी छ । दोस्रो चरणको खोजी कार्य जारी रहेको तर कुनै उपलब्धि प्राप्त नभएको निमित्त प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले बताए । ‘खोजी कार्य जारी छ, तर केही फेला परेको छैन’, उनले भने, ‘सनाखत हुन नसकेका चारवटा शवहरु भरतपुर अस्पतालको शवगृहमै राखिएका छन् ।’
दुर्घटनामा चितवनका दुई जना परेका थिए । उनीहरुको परिवारलाई जनही दुई लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने प्रक्रिया अन्तिम चरणमा पुगेको उनले बताए ।