Latest News

रत्ननगरका कर्मचारीलाई बायोमेट्रिक प्रमाणीकरणसम्बन्धी तालिम 

FB_IMG_1722758420417

रत्ननगर । बायोमेट्रिक प्रमाणीकरण प्रणालीमार्फत राष्ट्रिय परिचयपत्रसहितको सामाजिक सुरक्षा भत्ता नवीकरण तथा विवरण अद्यावधिकसम्बन्धी वडा सचिव, कर्मचारी तथा कम्प्युटर अपरेटरहरुका लागि तालिम सम्पन्न भएको छ ।

रत्ननगर–५ का वडाध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईंको अध्यक्षतामा भएको तालिममा प्रमुखअतिथि नगर उपप्रमुख यादवप्रसाद पाठकले सेवाग्राहीलाई सेवा दिँदा गम्भीर बन्न निर्देशन दिँदै सेवाग्राहीका कामकारबाही समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

कतिपय कर्मचारी कार्यस्थलमा नभेटिएको सेवा प्रवाहमा छिटोछरितो नभएको गुनासो सुन्नु परेको भन्दै उनले आफ्नो जिम्मेवारीअनुसार सेवाग्राहीलाई दुःख नदिने मनसायका साथ सम्पन्न गर्नुपर्ने बताए ।

नाता प्रमाणित लगायतका कागजातका लागि समेत वडा सचिवले बसाइँसराइ मागेर काम नगरिदिएको गुनासो आएको भन्दै उनले सूचकका आधारमा नाता प्रमाणित, विवाह दर्ता, मृत्यु दर्ताजस्ता कामका लागि दुःख नदिन आग्रह गरे । नेपाली नागरिक जुनसुकै ठाउँमा बस्न, घरजग्गा किन्न, व्यवसाय गर्न सक्छन् भने नाता प्रमाणका लागि स्थायी ठेगानामै जाऊ भन्न नहुने उनको भनाइ थियो ।

प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले नगरवासीलाई सेवा प्रवाह र सुशासन प्रवाहका लागि आमनागरिकले चिन्ने भनेकै वडा कार्यालय भएकाले वडाबाट प्रवाह गर्ने सेवा प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

बायोमेट्रिक प्रमाणीकरण प्रणालीमार्फत राष्ट्रिय परिचयपत्र, सामाजिक सुरक्षा भत्ता तथा नवीकरण विवरण कसरी अद्यावधिक गर्ने भन्ने सम्बन्धमा सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखा प्रमुख रामप्रसाद बस्ताकोटीले सहजीकरण गरेका थिए ।

उनले राष्ट्रिय परिचयपत्र, सामाजिक सुरक्षा भत्ताको लागि बायोमेट्रिक प्रमाणीकरण वडा वडामै अद्यावधिक हुने र छुटेका, नगरले समन्वय गर्नुपर्ने र प्राविधिक सहयोगका लागि सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखाले अद्यावधिक गरिरहेको जानकारी दिए ।

उनले छिट्टै राष्ट्रिय परिचयपत्र, सामाजिक सुरक्षा भत्ता तथा नवीकरणको बायोमेट्रिक प्रमाणीकरणका लागि वडावडामा टोली खटाइने जानकारी दिए ।

आगामी पुस मसान्तभित्र सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्यरूपमा चाहिने भएकाले सोही अवधिभित्र सबै नागरिकको विवरण अद्यावधिक गरिसक्नुपर्ने बताए ।