वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मुलुकमा निर्वाचनको विकल्प नभएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “अब मुलुकको पहिलो र सबैभन्दा महत्त्वपूर्ण ‘एजेण्डा’ भनेकै कसरी निर्वाचन सम्पन्न गराउने रहेको छ ।”
रुपन्देहीको भैरहवामा आयोजित वर्तमान जटिल राजनीतिक परिदृश्यको निकास एवं व्यवस्थापनमा नागरिक समाजको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा वरिष्ठ अधिवक्ता त्रिपाठीले निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित हुनुपर्नेमा जोड दिनुभयो ।
“आमनागरिक र मतदाताको मतदान केन्द्रमा पहुँच सुनिश्चित हुनुपर्छ, ढुक्क भएर मतदान गर्ने वातावरण बन्नुपर्छ”, उहाँले भन्नुभयो, “सरकारले निर्वाचनको वातावरण बनाउन केही आधारभूत कुराहरू गर्न जरुरी छ ।” उहाँले पहिलो कुरा भनेकै जनतालाई पत्यार लाग्ने गरी सरकारले विश्वासको वातावरण बनाउनुपर्ने बताउनुभयो ।
“विगतका सरकारहरू जतिसुकै निर्वाचनबाट आएको भनिए पनि जनताको चाहनाअनुसार काम भइरहेको थिएन”, उहाँले भन्नुभयो, “जनताले सुशासन, विकास, समृद्धिका लागि मत दिएका थिए । तर मुलुकमा जनताको ‘म्याण्डेट’ नै अपरहित गरियो ।”
वरिष्ठ अधिवक्ता त्रिपाठीले अहिलेको जेनजी आन्दोलनका क्रममा प्राप्त भएका उपलब्धिहरूलाई केही सक्रिय तत्वले विलिन गर्न चाहेको बताउनुभयो ।
उहाँले अदालतमा केही फाइल जल्दैमा अपराधीले उन्मुक्ति नपाउने स्पष्ट पार्नुभयो । “जति नै फाइल जले पनि उनीहरूले उन्मुक्ति पाउँदैनन्, त्यो फाइल कहीँ न कहीँ छ, हामी वकिलहरूसँग छ”, उहाँले भन्नुभयो, “सरकारवादी मुद्दाको फाइल सरकारी वकिलसँग छ, अर्को निकायमा होला नि, सर्वोच्च अदालतमा मुद्दा छभने त्यसको केही फाइल जिल्ला, उच्च अदालतमा होला नि ?”