Latest News

चितवनमा उद्योगको पर्खाल भत्किदा तीन मजदुरको मृत्यु

parkhal

चितवनमा एक दाना उद्योगको पर्खाल भत्किँदा च्यापिएर तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । रत्ननगर नगरपालिका वडा नम्बर १२ स्थित शान्तिकुञ्ज टोलमा रहेको किसान दानाको पर्खाल भत्किँदा च्यापिएर उद्योगमा काम गर्ने तीनजना मजदुरको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९ः५० को समयमा पर्खाल भत्किएर गम्भीर घाइते भएका उनीहरूको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा खैरहनी नगरपालिका वडा नम्बर २ बस्ने ४५ वर्षीय शुक राम दराई, गोरखा घर भई रत्ननगर नगरपालिका वडा नम्बर १२ बस्ने ५४ वर्षीय रेशम दमाई र रत्ननगर नगरपालिका १२ बस्ने ४५ वर्षीय कमल गुरुङ रहेका छ्न।

यस्तै पर्सा घर भई रत्ननगर नगरपालिका १२ बस्ने ३९ वर्षका जितेन्द्र महतो र पर्सा घर भई रत्ननगर नगरपालिका वडा नम्बर १२ बस्ने अन्दाजी ४० वर्षका अंकज प्रसाद थारू घाइते भएका छन् । मध्यम घाइते भएका उनीहरूको उपचार चितवन मेडिकल कलेजमा भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।