Latest News

नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन सहज : रोकिएका गाडी गन्तव्य तर्फ लागे

kathmandu-mugling

दुई दिनको लगातार वर्षाका कारण विभिन्न ठाउँमा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार बिहानदेखि सहज बनेको छ । सडक डिभिजन चितवनका अनुसार सोमबार बिहान ६ बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको हो ।

सडक डिभिजनले अहिले अवस्था सामान्य भए पनि पहिरोको जोखिम कायमै रहेकाले सावधानीपूर्वक यात्रा गर्न अनुरोध गरेको छ ।

अवस्था सामान्य बनेसँगै नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका हुन्।

‘बिहान ६ बजेबाट नारायणगढ–मुग्लिन सडकखण्ड कुनै अवरोध बिना सञ्चालन भएको छ । यस खण्डमा पहिरोको जोखिम कायमै रहेकाले कृपया सावधानी पूर्वक सुरक्षित यात्रा गर्नुहुन सम्पूर्ण यात्रुमहानुभावलाई हार्दिक अनुरोध गर्दछौं’, सूचनामा भनिएको छ ।

गत शुक्रबार र शनिबार आएको अविरल वर्षाका कारण ती सडकमा पहिरोको उच्च जोखिम हुनसक्ने जनाउँदै आइतबार राति ९ बजेपछि सार्वजनिक तथा निजी यातायातका साधन आवतजावतमा बन्द गरिएका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार यातायात सञ्चालनमा आएसँगै रोकिएका सवारी साधन गन्तव्य तर्फ लागेका छन् ।

जिल्लाका १४ स्थानमा विश्राम कक्ष रोकिएका लामो तथा छोटो दुरीका सवारी साधन गन्तव्य तर्फ जान थालेका हुन् ।