सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कांग्रेस सभापति शेरबहादुर देउवा र नेता एवं निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको घरमा जलेको अवस्थामा भेटिएका भनिएको रकममाथि अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले आइतबार देउवा र खड्काको जलेको घरमा पुगेर घटना मुचुल्का कागज खडा गरी अनुसन्धान अघि बढाएको हो । टोलीले दुवै घरबाट जलेका नोटका केही टुक्रा र वरपरबाट खरानी संकलन गरेको छ ।
‘जेन–जी’ आन्दोलनका क्रममा २४ भदौमा प्रदर्शनकारीले देउवा र खड्काको बूढानीलकण्ठस्थित घरमा तोडफोड र आगजनी गरेका थिए । आगजनीपछि दुवैका घरमा नेपाली र विदेशी नोट जलेको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । ती भिडियो र फोटोको फरेन्सिक जाँच भइसकेको छैन । घर जलेको तेस्रो दिनपछि प्रहरीले दुवै नेताका घरमा बाहिरका मानिसलाई प्रवेश रोक लगाएको थियो । घटनाको डेढ सातापछि विभाग अनुसन्धानमा जुटेको हो ।
‘आगजनी भएका कतिपय नेताका घरमा नोट भेटिएको र कतिपय सग्ला नोट प्रदर्शनकारीले लगेको भनी विभिन्न तस्बिर र भिडियो बाहिरिएका थिए, यसमा हामीले सूक्ष्म रूपमा नियालिरहेका थियौं,’ विभागका एक अधिकारीले भने, ‘अहिले बाहिर आएका विवरणहरूको प्रारम्भिक स्क्रिनिङपछि घटनास्थलमै गएर हेरिएको छ ।’
विभागले नमुनाका रूपमा लिएको खरानी र टुक्रा सक्कली नोट भएको पुष्टि भए उनीहरू सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा तानिनेछन् भने यसरी आर्जन गरेको सम्पत्ति पनि जाँचबुझ र अनुसन्धान दायरामा आउनेछ । यता, राजस्व अनुसन्धान विभागका एक अधिकारीले पनि नेताका घरमा जलेको अवस्थामा नेपाली र विदेशी मुद्रा भेटिएको विषयलाई ‘नोटिस’ मा लिएर अनुसन्धान गरिरहेको जानकारी दिए ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोली अर्का पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको खुमलटारस्थित घरमा पनि गएर अवलोकन गर्ने तयारीमा जुटेको एक अधिकारीले जानकारी दिए । दाहालको जलेको निवासमा पनि अहिले प्रहरी खटाएर पहरा दिइएको छ । घर जलेपछि दाहाल अन्यत्र बस्दै आएका छन् ।
कांग्रेस सभापति देउवाको सचिवालयले भने जलेको रकम भेटिएको र रकम राख्न सुरुङ नै प्रयोग गरिएको दाबीसहितका भिडियोहरू भ्रामक भएको जिकिर गरेको छ । देउवाका सहयोगी भानु देउवाले २ असोजमा जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जालमा देखाइएका दृश्यहरू कपोकल्पित, अतिरञ्जित र भ्रामकका साथै दूषित मनसायले बदनाम गर्ने उद्देश्यले फैलाइएको उल्लेख गरेका छन् ।
‘त्यस्तो जघन्य आपराधिक घटनापछि पनि पार्टी नेतृत्वलाई बदनाम गर्ने उद्देश्यले विभिन्न सामाजिक सञ्जालहरूमा देउवा निवासमा अत्यधिक पैसा भेटिएको, पैसाको सुरुङ रहेको जस्ता कपोकल्पित समाचार सम्प्रेषण भइरहेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।