नुवाकोट (बेत्रावती) , भदौ २१-
रसुवाको भोटेकोशीमा बाढी आएको १२ दिन बित्यो । तर बेत्रावतीमा बेपत्ता भएका नागरिक भेटिएका छैनन् । बेत्रावती लाखे समितिका अध्यक्ष शशि डंगोल कुन टोलबाट कति मानिस बेपत्ता छन् भनेर तथ्यांक संकलन गरिरहेका छन् ।
उनका अनुसार बेत्रावतीका ६ वटा टोलबाट १९३ जना बेपत्ता छन् । ‘आज १२ दिन बित्यो । बेपत्ता हाम्रा आफन्तहरू आउलान् कि भन्ने आशैआशमा कहालीलाग्दो समय बित्दैछ,’ उनले भने।
भेटिने आश कम हुँदै गएपछि धेरैले कुशको शव बनाएर दाहसंस्कार गरेका छन् । ‘आफन्तजनको स्मृतिमा काजकिरियाको काम पनि भइरहेको छ,’ उनले भने ।
आजको दिनसम्म उनले बेत्रावतीमा भएको क्षतिको रिपोर्ट तयार पारेका छन् । जुन रिपोर्ट अनलाइनखरबलाई उपलब्ध गराएका छन् । ‘बेत्रावती बजारको आसपासका टोल आगिटारदेखि सातबीसे–कैदलीटार–नौबीसेसम्म ठूलो मात्रामा धनजनको क्षति भएको छ । जमिन र घरटहरा कामै नलाग्ने गरी मासिएका छन्,’ उनले भने ।
बेत्रावती रसुवा र नुवाकोटको सिमानामा पर्छ । उत्तरगया गाउँपालिका–५ र विदुर नगरपालिका–१० मा पर्ने बेत्रावतीमा स्थालगत रूपमै गएर तथ्यांक संकलन गरिएको डंगोलले बताए ।
बेत्रावतीमा नेवार समुदायको जनसंख्या धेरै भए पनि मिश्रित बसोबास थियो । डंगोलका अनुसार बेत्रावतीमा घरधुरी संख्या २९९ रहेकोमा जनसंख्या १ हजार २५६ थियो । जसमा बेपत्ता नागरिक १९३ जना छन् ।
यो बस्तीमा डंगोल, श्रेष्ठ, लवट, नगरकोटी, मगर, तामाङ, रिजाल, ढकाल, आचार्य, लामिछाने, अधिकारीहरूको बसोबास थियो । तर अहिले कुनै पनि घर सग्लो छैनन् ।
‘मैले टोलका सबैलाई चिनेको भएर एकएक याद छ । कति सम्पर्कमा आउनुभयो । कति बेपत्ता हुनुहुन्छ भनेर आफैं संकलन गरेको हुँ,’ उनले भने, ‘थोरै संख्या तलमाथि हुनसक्छ तर धेरै फरक पर्दैन ।’
बेत्रावतीमा घाइते ४ जनाको उद्धार भएको थियो, जसमा एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
जीवितै रहेको आशा, खोजीको याचना
बेत्रावतीमा बाढी आएको ११औँ दिन शनिबार ६४ वर्षीया चण्डिका श्रेष्ठको उद्धार भयो । घरसहित बाढीले बगाएकी उनको उद्धार भएपछि स्थानीयले बाढीले बगाएको र भत्किएको घरमा खोजतलास गर्न माग गरेका छन् ।
‘घरघरमा सर्च गर्नु पर्नेछ । खोजतलास गर्न नगरपालिकामार्फत भनेका छौँ,’ उनले भने, ‘कोही जीवितै रहेको आशा छ । खोजी गरेपछि ढुक्क हुन पाइयो ।’
भागेर बाँचेका कहाँ छन् ?
बेत्रावतीको माथि स्वाँराडाँडा छ । घरबारविहीन भएकाहरू सोही ठाउँमा टेन्ट टाँगेर बसेका छन् । परिवार गुमाएकाहरू काजकिरिया गर्न बेत्रावतीमा सम्भव नभएपछि काठमाडौं आएका छन् । कोही रसुवातर्फको बोगटीटारको नीलकण्ठ स्कुल आसपासमा पनि रहेको डंगोलले बताए ।
‘कोही नुवाकोट दरबार क्षेत्रमा त कोही काठमाडौं आफन्तकोमा आश्रित छन् । टेन्टमा अहिले २०-२२ घरधुरी छन्,’ डंगोलले भने, ‘अब काजकिरिया सकेपछि गाउँलेहरू त्यहीँ जम्मा भएर अर्को व्यवस्थापन नभएसम्म बस्ने तयारी छ ।’
सरकारले बासस्थानको लागि नीति-नियमसहित प्याकेज ल्याउने आशामा स्थानीय छन् । ‘सरकारले नीति-नियम ल्याउला । त्यसपछि अनुकूल हुने गरी बसोबासको बन्दोबस्त होला भन्ने आशा छ,’ उनले भने, ‘तत्कालको लागि सुरक्षित स्थानमा अस्थायी बसोबास, घाइतेको उपचार ज्येष्ठ नागरिकको रेखदेख र नानीबाबुको पढाइमा ध्यान केन्द्रित होस् ।’
स्थानीयका अनुसार यो क्षेत्रमा राहत आइरहेको छ । तर कच्ची बाटोका कारण समस्या भएको छ । ‘राहत आइरहेको छ । बाटोका कारण ढिलाइ भइरहेको देखिन्छ,’ उनले भने ।
बेत्रावतीको संरक्षण, सुरक्षित स्थानमा बस्ती
बेत्रावतीको ऐतिहासिक महत्त्व छ । तिब्बतसँगको सन्धिदेखि धार्मिक आस्थाको धरोहरसमेत हो बेत्रावती । त्यसैले यसको संरक्षणमा स्थानीयको जोड छ ।
यहाँ हुने लाखे, गाईजात्रा, उत्तरगया धाम चर्चित छ । बेत्रावती पितृको श्राद्ध गर्ने पवित्र स्थल पनि हो । अर्कोतर्फ व्यापारिक केन्द्र पनि हो । ‘रसुवा-नुवाकोट जोड्ने छोटो दुरीको बाटो भएको कारण बेत्रावती क्षेत्रमा पक्की सडक बनाउन पहल गर्ने र सुरक्षित स्थानमा बस्तीको विकास गर्नुपर्छ,’ डंगोलले भने ।
बेत्रावतीवासीले यस पटकको जनैपुर्णिमामा मेला, गाईजात्रा, कृष्ण अष्टमी रथयात्रा कार्यक्रम गर्ने र असोज ९–१० चितवन हुने ७औं राष्ट्रिय लाखेनाच प्रतियोगितामा सहभागी हुने सबै तयारीसमेत सकिएको थियो । तर सबै रोकियो । यी ऐतिहासिक धरोहरलाई जोगाउनुपर्ने मत स्थानीयको छ ।
स्मृति स्तम्भ बनाउने
बाढीमा बेपत्ता भएकाहरूको सम्झनामा बेत्रावतीमा स्मृति पार्क बनाउने योजना स्थानीयको छ । ‘बेत्रावतीले हाम्रा आफन्त तथा प्रियजनलाई कहिल्यै पनि भुल्न सक्ने छैन र भुल्दैनौं पनि । उहाँहरूको सम्झनामा एउटा सुन्दर बेत्रावती पार्क तथा स्मृति स्तम्भ बनाउने छौँ,’ अध्यक्ष डंगोलले भने, ‘बेत्रावतीको वारिपारि जता भए पनि भौगोलिक अवस्थालाई मध्यनजर राख्दै स्थायी बसोबास रहने गरी पुनर्स्थापना र पुनर्निर्माण गर्नेछौं ।’