नेपाली सेनाः संयुक्त राष्ट्रसङ्घको विश्वसनीय र भरपर्दो शान्ति सैनिक
काठमाडौँ, जेठ १९- नेपाली सेना संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना कार्यप्रति नेपालको प्रतिबद्धतालाई व्यवहारमा उतार्दै करिब साढे छ दशकदेखि शान्ति सैनिकका रूपमा विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रमा तैनाथ हुँदै आएको छ । विसं २०१५ मा ‘युनाइटेड नेसन्स् अब्जरभर ग्रुप इन लेबनान’ (युएनओजिआइएल)अन्तर्गत पाँच जना नेपाली सैनिक पर्यवेक्षकको तैनाथीसँगै विश्व शान्ति कार्यमा नेपालको यात्राको सुरुआत भएको थियो । यद्यपि, २०३१ सालमा युनाइटेड नेसन्स् इमर्जेन्सी फोर्स– युएनइएफअन्तर्गत इजिप्टको सिनाइमा पुरानो गोरख गणको तैनाथी नै नेपाली सेनाको युनिट तहको पहिलो सहभागिता थियो । हालसम्म नेपाली सेनाका करिब एक लाख ६५ हजारभन्दा बढी शान्ति सैनिकले विश्वका विभिन्न ४४ वटा शान्ति कार्य मिसनमा योगदान दिइसकेका छन् ।…