–रमेश बस्ताकोटी
नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवा वीपी भोगेका, देखेका, नजिकबाट चिनेका र जानेका नेता हुन् । उनी वीपीकै आर्दशलाई आत्मसात् गरेर वीपीकै प्रत्यक्ष अप्रत्यक्ष प्रशिक्षणमा राजनीतिमा आएका नेता हुन् । अर्थात् नेपाली काँग्रेसको वर्तमान मुख्य नेतृत्व वीपी भोगेको पुस्ताले नै गरिरहेको छ । पार्टी सभापती शेरबहादुर देउवा मात्र हैनन्, काँग्रेसमा केन्द्रदेखि वडा तह सम्म हेर्ने हो भने आजका मिति सम्म पनि वीपी भोगेका नेताहरुको संख्या उल्लेख्य छ । यसको अर्थ नेपाली काँग्रेसका सस्थापक नेता वीपी कोइराला जसको नीति,आर्दश र सिद्धान्तलाई काँग्रेसले आज सम्म पनि आफ्नो मुल मन्त्र मान्दछ, सोही अनुरुप काँग्रेसको नेतृत्व चलेको छ भनेर आम सर्वसाधारणले ठान्नु गलत हैन । नेपाली काँग्रेस भन्ने बित्तिकै वीपीको नेतृत्वमा बनेको र उनकै नीति, सिद्धान्त र आर्दशमा चलेको पार्टी हो भनेर राजनीतिमा सामान्य चासो राख्ने जोसुकैले सहजै अनुमान लगाउन सक्छन् । तर के साच्चै आमसर्वसाधारणले ठाने जस्तै अहिलेको काँग्रेस वीपीको पथमा हिंडेको छ त ? कि काँग्रेसले वीपी भुलिसक्यो ? वर्तमान समयमा काँग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक र आम सर्वसाधारणका लागि यो सबैभन्दा बढी चासोको विषय हो ।
वीपीले काँग्रेसलाई विचार,चिन्तन र प्रयोगद्धारा नेतृत्व प्रदान गरेका थिए । नेपाली काँग्रेसका नेताहरु ऋाज पनि सार्वजनिक मञ्चहरुमा बोल्दा वीपीका विचार, चिन्तन र उनले गरेका विभिन्न प्रयोगका बारेमा प्रसंशा गरेर थाक्दैनन्, तर आम मानिसले अनभुती हुने गरि साच्चै उनीहरुले वीपीको विचारलाई कार्यान्वयन भने गरेको पाईदैन । वीपीलाइ पढ्दा हामीले थाहा पाएका कुरा के हो भने वीपी निकै सरल हुनुहुन्थ्यो, निकै सहज हुनुहुन्थ्यो, वीपीको जिन्दगी एउटा खुला किताब जस्तै थियो । जसले आफ्नो सम्पुर्ण जिवन देश र जनताका लागि सर्मपित गर्नुभएको थियो । राजनीति गर्ने मानीस जोगी सरह जनतामा समर्पित हुनुपर्दछ भन्ने वीपीको मान्यता थियो । वीपीलाई पढेर हामीले यती कुरा जानेका हौं, तर वीपीलाई भोगेको पुस्तानै मुल नेतृत्वमा हुँदाका बखत पनि काँग्रेस वीपीले सोचेको पार्टी जस्तो हुन नसक्नु निकै दुःखको विषय हो ।
केहि अपवादलाई छाड्ने हो भने काँग्रेसको अहिलेको नेतृत्वमा राजनीति जोगी हुन गरिंदैन भनेर सोच्ने नेताहरुको हावी छ । उनीहरुका गतिविधि र जिवनशैली र बेला बेलामा प्रवाहित हु्ने विचारले यस कुरालाई पुष्टी गर्दछ । नेपाली काँग्रेसले प्रजातान्त्रिक समाजवादलाई आफ्नो मुख्य आर्दश मानेको छ । काँग्रेसको बिधान अन्य दस्तावेज हरुमा पनि सोही कुरा उल्लेख छ । प्रजातान्त्रिक समाजवाद वीपीले पार्दुभाव गरेको सिद्धान्त हो । वीपीको भनाई थियो “समाजवादका दुईवटा पाटा छन्, राजनीतिक रुपमा प्रजातन्त्र र आर्थिक क्षेत्रमा गरिव जनतालाई न्याय दिने खालको विकास ।” वीपीले भने जस्तै प्रजातन्त्र प्राप्तिका लागि काँग्रेसले विभिन्न कालखण्डमा महत्वपूर्ण योगदान पु¥याएको छ, यसमा दुईमत छैन । नेपालमा पटक–पटक भएका प्रजातान्त्रिक आन्दोनलहरुमा नेपाली काँग्रेसले नै नेतृत्वदायी भूमिका निर्वाह गरेका कुरामा कुनै सन्देहः छैन । तर के काँग्रेसले प्रजातन्त्र प्राप्ति पछि वीपीको समाजवादी सिद्धान्तलाई हुवहु कार्यान्वयन गरेको छ ? मुल प्रश्न यही हो । काँग्रेसका नेतृत्वकर्ता नेताहरुले यसबारेमा अव गम्भिर भएर सोच्ने बेला भईसक्यो, काँग्रेस नेतृत्व कहाँनेर चुक्यो, किन चुक्यो र अब फेरी वीपीको सिद्धान्तलाई कार्यान्वयन गर्दै काँग्रेसलाई अगाडी बढाउन के असहज हुन्छ भनेर एक पटक आत्मसमिक्षा गर्दै नेतृत्वले जवाफ दिनुपर्दछ ।
आज कांग्रेस वीपीलाई बेच्छ तर वीपीका आर्दश, सिद्धान्त र विचारहरूलाई व्यवहारमा लागू गर्दैन । यसले वीपीका अनुयायीहरूलाई ठूलो चोट पुगेको छ । कांग्रेस प्रजातन्त्र स्थापनापछि लामो समय सत्तामा बस्यो, त्यतिबेला उसले न वीपी सम्झियो न त वीपीका विचार सिद्धान्त र आर्दशहरू नै सम्झियो । जसले गर्दा देशमा कांग्रेसको लोकप्रियता क्रमशः घट्दै गएको कुरालाई नकार्न सकिदैंन ।
वीपीका आफ्नै भाइ–भतिजा पटक–पटक प्रधानमन्त्री भए । उनकै शिष्य शेरबहादुर पटक पटक प्रधानमन्त्री भए, अहिले कांग्रेसको सभापति छन् । वीपीकै कान्छा छोरा डा. शशांक एक पटक पार्टीको महामन्त्री भए, अहिले पनि उनि काँग्रेसका मुख्य नेताहरु मध्य पर्दछन् । तर पनि कांग्रेसको नेतृत्व तहले कहिल्यै नेपाली राजनीतिमा र सत्ता सञ्चालनमा वीपी विचार र नीति लागू गर्न सकेन । यसले वीपीका अनुयायीलाई त चोट परेको छ नै स्वयं सान्दाजुको आत्मासमेत पक्कै पनि खुसी भएको छैन होला ।
वर्षको एक दुई दिन वीपीलाई सम्झिएर चर्को भाषण गर्ने, उनकै आदर्शको बाटोमा हिँड्ने प्रण गर्ने तर भाषण गरेको ५ मिनेटमै सबै कुरा भुल्ने कांग्रेस नेतृत्वको प्रवृत्ति नै समस्याको मूल जड हो । कांग्रेसले अब पनि बोलीमा मात्र होइन व्यवहारमा नै वीपीको सिद्धान्त अङ्गीकार गर्न सकेन भने कांग्रेस फेरि पनि वामपुड्के हुँदै जानेमा दुईमत छैन । यही सन्दर्भमा स्वयं वीपीले भनेको एउटा भनाइ स्मरणीय छ–
एकदिन एउटा कार्यकर्ताले वीपीलाई सोधेछन्, ‘सान्दाजु प्रजातन्त्र आएपछि हामीजस्ता कार्यकर्तालाई के हुन्छ ?’ वीपीले भनेछन्, ‘प्रजातन्त्र आएपछि एकपटक फेरि पार्टीभित्र सुकिला मुकिलाहरू हाबी हुनेछन्, तिनले आदर्श बिर्सनेछन्, त्यस्ताकाविरुद्ध पार्टीभित्रै फेरि तिमीजस्ता कार्यकर्ताहरूले संघर्ष गर्नपर्छ ।” वीपी कति दूरदर्शी थिए भन्ने यही कुराले पुष्टि गर्छ ।
नभन्दै प्रजातन्त्र आएपछि त्यस्तै भयो, वीपीका आर्दश र सिद्धान्तहरू बिर्सिन थालियो र सुकिलामुकिला पार्टीमा हाबी हुँदै गए । पार्टीभित्र डनवाद, धनवाद, नातावाद, कृपावाद, चाकडीवाद हावी भएको कुरा ईमान्दार काँग्रेसी कार्याकर्ताहरुले राम्रैसंग अनुभुती गरेका छन् । जुन कुरा वीपीले कहिल्यै चाहेका थिएनन् । काँग्रेसको वर्तमान नेतृत्वले त्यही गरिरहेको छ । तर इमान्दार कार्यकर्ताहरूले अझै तिनीहरूविरुद्ध संघर्ष गरेका छैनन् । अति हुँदै गयो भने एकदिन त्यो पनि अवश्य हुनेछ र त्यो बेला कसैले पनि त्यसलाई रोक्न सक्ने छैन । जसले काँग्रेसका लागि निकै दुःखद् परिणाम दिन सक्छ ।
त्यसकारण कांग्रेस नेतृत्वले यसबारेमा बेलैमा सोचोस् । वीपी व्यक्ति मात्र नभएर विचार र सिद्धान्त हो, तसर्थ वीपीलाई अब कांग्रेसले व्यवहारमा नै अवलम्बन गर्नु आवश्यक छ ।
आफ्नो विधान र चुनावी घोषणापत्रहरुमा प्रजातान्त्रिक समाजवाद उल्लेख गर्ने तर व्यवहारमा कहिल्यै त्यसलाई लागू नगर्ने काँग्रेस नेतृत्वको यहि चरित्रका कारण काँग्रेस पटक–पटक खुम्चनुपरेको यथार्थलाई अब नेतृत्वले स्विकार गर्नुको विकल्प छैन । कागजीरुपमा मात्रै प्रजातान्त्रिक समाजवाद जस्तो युगअनुकुलको सिद्धान्तलाई अंगालेको देखाउने तर व्यवहारमा त्यो कतैपनि नभेटिने कुराले एक दुई पटक जनतालाई झुक्याउन सकिएला तर सधै त्यो संभव छैन । त्यसकारण अब कांग्रेसले सधै वीपीलाई भजाउने काम मात्र गर्नु हुँदैन । वीपी वीचारलाई व्यवहारमानै अवलम्वन गर्नुपर्दछ ।
वीपी कोईरालाको नेतृत्वमा र उनैले पार्दुभाव गरेको प्रजातान्त्रिक समाजवादी सिद्धान्तको जगमा वि.स. २०१५ सालको आमनिर्वाचनमा नेपाली काँग्रेसले दुईतिहाइ बहुमत ल्याएको थियो । सत्तामा पुग्नासाथ वीपी कोईरालाले त्यसवखत आफ्नो सिद्धान्तलाई लागू गर्न सुरु गरेका थिए । भूमिमाथिको सामन्ती एकाधिकार उन्मूलन, सहकारी आन्दोलनको थालनी, विभिन्न उद्योगको एकीकरण, उपयुक्त कर व्यवस्था त्यतीबेलाको सरकारले सुरु गरेको मुख्य कामहरु थिए । वीपी कोईरालाको नेतृत्वमा बनेको त्यस सरकारले बिर्ता र जमिन्दारी प्रथा उन्मूलन अभियान, भूमिहीनलाई भूमि वितरण, मोहियानी अधिकार संरक्षण, राजारजौटा प्रथाको समाप्ति, देशव्यापी रूपमा शैक्षिक प्रगति–अभियान, प्रशासनमा आधुनिकीकरण जस्ता परिवर्तनकारी र जनहितकारी अभियानको थालनी गरेको थियो । तर विडम्वना वीपी कोईरालाले डेढ वर्ष भन्दा बढी शासन गर्न पाएनन् । प्रजातान्त्रिक समाजवाद अनुरुपका कामहरु हुँदाहुँदै राजा महेन्द्रद्धारा वीपी कोईराला अपदस्थ भए । तर वीपीले जिवनभर आफुले पार्दुभाव गरेको यहि प्रजातान्त्रिक समाजवादी सिद्धान्तकै लागि लडिरहे ।
वीपीको यहि सिद्धान्तलार्ई आफ्नो मुल उदेश्य ठानेको काँग्रेस २०४७ साल पछि पटक–पटक सत्तामा पुग्यो, पटक–पटक वीपीको सपनालाई पुरा गर्ने अवसर पायो । तर व्यक्तीगत स्वार्थ, गुटगत स्वार्थ, अपरिपक्व नेतृत्व आदी कारणले काँग्रेस आफ्नो मुल बाटोमा हिड्न सकेन । व्यक्तीवाद हावी हुँदा काँग्रेस सधै अलमलिरह्यो । आफ्ना आर्दश र सिद्धान्तको कार्यान्वयनले राजनितिक रुपान्तरण गर्न तिर भन्दा व्यक्तीगत आर्थीक रुपान्तरणमा काँग्रेसका नेताहरु हावी हुनुले काँगेस वीपीले सोचेझै अघि बढ्न सकेन । अब काँग्रेसले भुलेको प्रजातान्त्रिक समाजवाद प्रतिको त्यही निष्ठालाई कार्यान्वयन तर्फ लैजान आवश्यक छ । वर्तमान समयमा पनि काँग्रेस सत्तामा छ, देशको मुख्य कम्युनिष्ट पार्टी संगको गठबन्धनमा काँग्रेसले गर्न सक्ला या नसक्ला त्यो बहसको विषय बन्ला, यो गठबन्धन आवश्यक थियो या थिएन यो छुट्टै बिषय होला तर काँग्रेसले आफ्नो मुल सिद्धान्तलाई कार्यान्वयन गर्ने तर्फ अब कदम अगाडी बढाउन अपरिहार्य भईसक्यो । यसका लागि सरकार संचालनका आधारभुत सहमतीहरु,निति तथा कार्यक्रमहरु र प्राथमिताहरुमा काँग्रेसले प्रजातान्त्रिक समाजवादलाई कार्यान्वयनमा लैजान जोड दिनुपर्दछ । दस्तावेज हरुमा मात्र हैन अब व्यवहारमा वीपी विचारलाई अवलम्वन गर्नु पर्दछ । त्यती गर्न सके एक पटक फेरि काँग्रेस प्रतिको जनताको भरोषा जिवित होला हैन भने यो २१ औं शताव्दिमा अन्य थुप्रै विकल्पहरु अगाडी आईसकेका छन् । त्यसलाई काँग्रेस नेताले बेलैमा मनन् गर्ने बेला भयो । अब सच्चिने कि सक्किने यो अब नेतृत्वले सोचोस् ।
\
आफू पनि केही नयाँ दिन नसक्ने अनि साढे सात दशक अघि वीपीले प्रतिपादन गरेका सिद्धान्तलाई पनि व्यवहारमा अवलम्बन नगर्दा कांग्रेस नेतृत्व चक्रव्यूहमा फसेको छ । चक्रव्यूहबाट निस्कने एकमात्र सूत्र वीपीकै आर्दश, नीति र सिद्धान्तको सफल कार्यान्वयन हो । यसमा अब पनि नाफा घाटा हेर्ने, भाई भतिजा, छोराछोरी, बुहारी, श्रीमान्–श्रीमती आदीका व्यक्तीगत स्वार्थहरु हेर्ने र त्यसै अलमलिरहने छुट नेतृत्वलाई छैन । एकपटक ईमान्दार कार्यकर्ताहरुले वीपीले भनेझै यस्ता हर्कत र पार्टी भित्रको अलोकतान्त्रिक चरित्रहरुलाई जरैबाट उखेल्न निर्णायक पहलकदमी लिन आवश्यक छ ।