ओट्टावा, २३ भदौ । क्यानडामा नवआगन्तुक विदेशीले जागिर पाउन सकस भइरहेको छ । आप्रवासनमा भएको वृद्धिसँगै जनसङ्ख्या बढेपछि क्यानडामा बाहिरबाट आउनेले काम पाउन छाडेका छन् ।
त्यहाँका व्यवसायहरूले कर्मचारी भर्ती सुस्त पारेका छन् । अगष्टमा मात्रै सो देशमा काम गर्ने उमेरको जनसङ्ख्या ९६ हजार ४०० ले बढेको तथ्यांक कार्यालय स्ट्याटिष्टिक्स क्यानडाले जारी गरेको तथ्यांकमा उल्लेख छ । गएको महिना ८२ हजार जनाले त्यहाँको श्रम बलमा सहभागिता जनाएका थिए । तर सो अवधिमा खुद रोजगारी भने २२ हजार १०० ले मात्रै बढ्यो ।
पछिल्ला अन्तिम तीन महिनामा क्यानडाको अर्थतन्त्रले श्रम बलमा सहभागी हुने हरेक ६ मध्ये एक जनाका लागि मात्रै रोजगारी सृजना गरिरहेको छ । यो भनेको एक वर्षयताकै न्यून हो । वर्षको सुरुमा उपलब्ध कामदारको तुलनामा जागिर निकै छिटिछिटो बढिरहेको थियो । अगष्टमा श्रम बलमा वृद्धि उच्च थियो । गएको वर्ष १५ वर्षभन्दा बढी उमेरका मानिसको सङ्ख्या ११ लाखले बढेको छ । यसमध्ये आधाले मात्रै जागिर खोजेका थिए भने ५४ प्रतिशतले मात्रै जागिर भेट्न सफल भए ।
कोभिडको महामारी अघिका २० वर्षमा क्यानडाले हरेक वर्ष काम गर्ने उमेर समूहमा २ लाखदेखि ५ लाख जना थपेको थियो । औसतमा दुई तिहाइले काम गर्थे । उनीहरूले काम मज्जाले भेट्थे पनि । तर अहिले आएर क्यानडाको रोजगारी बजार निकै सेलाएको छ । जुन स्तरमा नवआगन्तुकहरू आइरहेका छन् सोही स्तरमा व्यवसायहरूले कर्मचारी खोजिरहेका छैनन् । अगष्टमा रिक्त पदपूर्तिको विज्ञापन एक वर्ष अघिको तुलनामा २३ प्रतिशतले घटेको थियो ।
विदेशी विद्यार्थी र अस्थायी कामदारको विष्फोटक आगमनका कारण समग्रमा गएको वर्ष क्यानडाको जनसङ्ख्या ३।२ प्रतिशतले बढेको थियो । क्यानडाको जनसङ्ख्या १० लाखभन्दा धेरैले बढेको यो लगातार दोस्रो वर्ष थियो । यसकै कारण जष्टिन ट्रुडोको सरकारले नयाँ आप्रवासीको संख्यामा अंकुश लगाउने अध्यागमन कडाइ गर्न बाध्य बन्यो । हुन त काम गर्ने उमेरको जनसङ्ख्या भएको वृद्धिको कारण आप्रवासन मात्रै होइन । सानो जमातका क्यानडाका किशोर किशोरीहरू १५ वर्षमा पुग्नु पनि हो ।
तर अगष्टमा गएको पाँच वर्षभित्र क्यानडा आएका आप्रवासीमाझ बेरोजगारी दर १२.३ प्रतिशत थियो । यो क्यानडामा जन्मिएका वा १० वर्षदेखि क्यानडा बसिरहेका विदेशीको भन्दा दोब्बरभन्दा धेरै हो । क्यानडाको श्रम बजार र पूर्वाधारको क्षमताको दाँजोमा आप्रवासन निकै छिटो बढेको एउटा प्रतिवेदनमा बैंक अफ नोभा स्कटियाका अर्थशास्त्री देरेक हल्टले भनेकाका छन् । एजेन्सी