आज गणेश चतुर्थी, भगवान् गणेशको जन्मदिन
काठमाडौं, २२ भदौ। आज भाद्र शुक्ल चतुर्थी। सनातन धर्मावलम्बी भगवान् गणेशको जन्मदिन मनाउँदै छन्। शिव र पार्वतीका पुत्रका रूपमा यो दिन गणेशजीको उत्पत्ति भएको पुराणमा उल्लेख छ। भगवान् गणेश सबै काममा बिघ्न हटाउने अर्थात् बिघ्नहर्ताका रूपमा पुजिन्छन्। हिन्दूधर्ममा गरिने सम्पूर्ण पूजाआराधनामा पहिले उनैको पूजा गरिन्छ। गणेशको पूजा नगरी वा उनलाई नसम्झी गरेका कार्यमा विघ्न पर्छ भन्ने विश्वास छ। सनातन समाजमा कुनै काम सुरु गर्दा ‘श्रीगणेश गरेको’ भन्ने चलन छ। ठूलो भुँडी भएकाले लम्बोदर, हात्तीको आकृतियुक्त मुहार भएकाले गजानन, विघ्न हटाउने भएकाले विघ्ननाशक, गणका पति भएकाले गणपति, सबै देवताका प्रिय भएकाले सुरप्रिय र विनायकजस्ता अनेकौँ नामले गणेश पुजिन्छन्। अन्य देवता जस्तै…