पुल मर्मत नहुँदा आवागमनमा समस्या
हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ स्थित सानो माइको पुल भासिएपछि मर्मत नहुँदा आवागमनमा समस्या भएको छ । झापा बजार हुँदै कुञ्जिबारी जोड्ने उक्त पुल गत असोज १८ र १९ गतेको अविरल वर्षापछि आएको बाढीका कारण भासिएको थियो । एक महिना पुग्न लागिसक्दासमेत पुलको मर्मत भएको छैन । गौरीगञ्जका विद्यानन्द राजवंशीले सदरमुकाम चन्द्रगढी जानका लागि सोही पुलबाट जोखिमपूर्ण यात्रा गर्नुपरेको बताउनुभयो । सवारीसाधन र यात्रु भासिएको पुलबाटै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । तीन वर्षअघि रु छ करोडको लागतमा उक्त पुल निर्माण भएको थियो । पुलको लम्बाइ ५४ मिटर रहेको छ । बाढीलाई थेग्न नसकेपछि मध्यभागको पिलर भासिएर पुल बाङ्गिएको छ ।…