Latest News

रत्ननगर अस्पतालमा एक बर्षमा २ लाख ५४ हजार विरामीको उपचार

4aae9917-55bb-4d9d-bd5e-8e81aeba24c2

रत्ननगर,१८ साउन  । बकुलहर रत्ननगर अस्पतालले पछिल्ला वर्षहरुमा रहर लाग्दो प्रगति गरेको छ । न्यून जनशक्तिमा भौतिक पूर्वाधार, उपकरण र जनशक्तिको अधिकतम प्रयोग गरेर अस्पतालले ठूलो संख्यामा बिरामीलाई सेवा दिएको हो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा.मदन ज्ञवालीका अनुसार गत आर्थिक वर्षमा दुई लाख ५४ हजार ८३० जना बिरामीले अस्पतालबाट सेवा लिएका छन् । अघिल्लो आर्थिक वर्षमा यो संख्या दुई लाख चार हजार ५०६ थियो । आर्थिक वर्ष २०७८/०७९ मा एक लाख ५२ हजार ५२७ बिरामीले सेवा लिएका थिए । वार्षिक ५० हजारको हाराहारीमा बिरामीको संख्या बढ्दै गएको ज्ञवालीले बताए।

अस्पतालमा गत आर्थिक वर्षमा बहिरंग सेवामा दुई लाख ४६ हजार ७२३ जनाले सेवा लिएका छन् । आर्थिक वर्ष २०७९/०८० मा यो संख्या दुई लाख तीन हजार ११० थियो । यस्तै आर्थिक वर्ष २०७८/७९ मा एक लाख ४२ हजार ८०८, २०७७/०७८ ८५ हजार ५५२ बिरामीले बहिरंग सेवा लिएका थिए । अस्पतालमा आकस्मिक सेवा लिनेहरुको संख्या पनि बढ्दै गएका छन् । मेडिकल सुपरिटेण्डेण्ट डा.ज्ञवालीका अनुसार गत आर्थिक वर्षमा १८ हजार १०७ जनाले आकस्मिक सेवा लिएका छन् । आर्थिक वर्ष २०७९/०८० मा यो संख्या १३ हजार ९७ रहेको थियो ।

यस्तै २०७८/०७९ मा ९ हजार ७१९ र २०७७/०७८ मा पाँच हजार ४१४ रहेको थियो । रेडियोलोजी र प्रयोगशाला सेवा लिनेहरुको संख्या पनि अत्याधिक बढेर गएको छ । गत आर्थिक वर्षमा एक लाख पाँच हजार २१ जनाले सेवा लिएका छन् । ती मध्ये एक्सरे ४१ हजार ७१३, युएसजी ४१ हजार ९७३ वटा, ईको दुई हजार ४८२ वटा, ईण्डोस्कोपी ९१२ वटा रहेका छन् । अघिल्लो आर्थिक वर्षमा यी सेवा लिनेको संख्या ९८ हजार ४२४ थियो । आर्थिक वर्ष २०७८/०७९ मा यो संख्या ४४ हजार ७८४ थियो भने २०७७/०७८ मा ३३ हजार ११२ मात्रै थियो ।

अस्पतालमा भर्ना भएर उपचार लिने बिरामीको संख्या गत आर्थिक वर्षमा ३ हजार ८५९ र आर्थिक वर्ष २०७८/०७९ मा दुई हजार ३१४ रहेको छ । अस्पतालमा गत आर्थिक वर्षमा दुई हजार ९० वटा शल्यक्रिया गरिएका छन् । ती मध्ये मेजर शल्यक्रिया आकस्मिक कक्षबाट १० वटा भर्ना भएका बिरामीका एक हजार १७० वटा रहेका छन् । मध्य खालका ३५३ वटा शल्यक्रिया यस अवधिमा भएका छन् । यस्तै माईनर शल्यक्रिया आकस्मिक २६ र भर्ना नभएका ५३२ वटा भएका छन् । मेडिकल सुपरिटेण्डेण्ट डा. ज्ञवालीका अनुसार स्थान अभावका कारण भर्ना गरेर बिरामीको उपचार सेवा दिन कठिन भईरहेको छ । यद्यपी पछिल्ला वर्षहरुमा यो संख्या बढ्दै गएको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा अस्पतालमा भर्ना गरेर ४९२ जना बिरामीलाई सेवा दिईएको थियो । यो क्रमशः बढ्दै गएर गत आर्थिक वर्षमा तीन हजार ९८० पुगेको हो । प्रदेश सरकारले अस्पताललाई गत आर्थिक वर्षबाट एक सय शैयाको स्वीकृत प्रदान गरेको छ । अस्पतालमा अहिले ९० शैया सञ्चालनमा छन् । अस्पतालमा पाँच शैयाको सघन उपचार कक्ष, आठ शैयाको बाल सघन उपचार कक्ष रहेका छन् । अस्पतालमा विशेषज्ञ चिकित्सक २५ जना, दन्त चिकित्सक चार जना, मेडिकल अधिकृत १७ जना सहित २४० जना जनशक्तिले सेवा दिईरहेको छ । न्यून जनशक्तिले धेरै बिरामीलाई सेवा दिंदै आएको डा.ज्ञवालीले बताए ।

अस्पतालमा पर्याप्त जग्गा नहुँदा भौतिक पूर्वाधारका काम गर्न कठिन भएको, मृर्गौलाको डाईलासिस उपकरण अभावमा बिरामी धेरै लामो पालो कुर्नु परेको डा. ज्ञवालीले भनाई छ । पछिल्ला दिनहरुमा बिरामीको उच्च चापका कारण शैया, शल्यक्रिया कक्ष, फार्मेसीको सुदृढिकरण गर्ने तयारीमा रहेको उहाँको भनाई छ । मातृ शिशु भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अस्पतालमा ८० प्रतिशत स्वास्थ्य बीमाका बिरामी आउने गर्दछन् । मुख्य गरी पूर्वी चितवनका रत्ननगर, खैरहनी, राप्ती, कालिका नगरपालिकाका बिरामी आउने यस अस्पतालमा मकवानपुर, धादिङ, नवलपरासी र भरतपुरबाट समेत बिरामी उपचारका लागि आउने गर्दछन् ।

मुख्य रुपमा छाला रोगका बिरामी टाढा टाढाबाट आउने गर्दछन् । अस्पतालमा मेडिसिन, सर्जिकल, छाला, बालबालिका, नाक–कान–घाँटी, मनोरोग, हार्डजोर्नी, प्रसुती तथा स्त्री, दन्त चिकित्सा लगायतका सेवा रहेका छन् । कुनै समय हेल्थपोष्ट जस्तो रहेको पूर्वी चितवनको यस अस्पतालमा अहिले बिरामीको भिड लाग्ने गरेको छ ।